News तनहुँ–११ लाई भानु कपको उपाधि
सुरज राना मगर

भन्सार बजार । राष्ट्रिय विभुति आदिकवी भानुभक्त आचार्यको २०९औं जन्मोत्सवको अवसरमा आयोजित १५औं भानु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली तनहुँ–११ ले जितेको छ ।

भानु नगरपालिका–१, भन्सार बजार, तनहुँ स्थित भानु रंगशालामा सम्पन्न फाइनल भिडन्तमा तनहुँ–११ ले शिद्ध गुफा युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको तनहुँ–११ ले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता शिद्ध गुफाले १ लाखमा चित्त बुझायो । त्यस्तै सेमिफाइनलमा पराजित भएका दुई टोली सामना युवा क्लब र मस्र्याङ्दी युवा क्लबले जनही २०–२० हजार प्राप्त गरे । मस्र्याङ्दी फेयर प्ले टिम पनि बन्यो ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी तनहु–११ का रणदिप पौडेल घोषित भए । प्रतियोगिता भरि कुल ९ गोल गरेका तनहुँ–११ कै दिपेश आले सर्वाधिक गोलकर्ता बन्दा तनहुँ कै प्रदिप भण्डारीले उत्कृष्ट गोलरक्षकको पुरस्कार हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व सभामुख तथा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

भन्सार युवा परिवार, भानु नगरपालिका–१ तनहँुको आयोजनामा भएको प्रतियोगितामा कुल ३१ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

 

Post Comments