News यु–१७ टोलीका लागि पनि खुला छनौट हुने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय यु–१७ फुटबल टोलीका लागि पनि देशभरिबाट आएका खेलाडीहरुबीच खुला छनौट गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यसका लागि एन्फाले सम्बन्धित सबैलाई पत्राचार समेत गरिसकेको छ ।

आउँदो सेप्टेम्बर ५ तारीखदेखि श्रीलंकामा हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिप तथा एएफसी यु–१७ एसियन कप छनौटका लागि राष्ट्रिय टोली निर्माण गर्न खुला छनौट कार्यक्रम आयोजना गरिने एन्फाले जनाएको हो ।

स्मरण रहोस, यसअघि साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटका लागि पनि देशैभरिबाट आएका खेलाडीहरुमध्ये उत्कृष्ट खेलाडीहरु छनौट गरि हालै राष्ट्रिय यु–२० फुटबल टोली घोषणा गरिएको थियो ।

यता एन्फाले यु–१७ छनौटका लागि इच्छुक खेलाडीहरुलाई यहि साउन ४ देखि ९ गतेसम्म आवश्यक कागजातका साथ सम्पर्क गर्न आह्वान गरेको छ । छनौट कार्यक्रममा सहभागित जनाउनका लागि इच्छुक खेलाडीहरुको जन्ममिति २०६२ पौष १७ गते (२००६ जनवरी १) पछिको हुनुपर्ने एन्फाले पत्रमा उल्लेख गरेको छ ।

छनौट कार्यक्रमबारे विस्तृत रुपमा जान्नका लागि तल दिइएको पत्र हेर्नुहोस् ।

 

Post Comments