News माल्दिभ्स विरुद्ध निश्चित जितका लागि खेल्नेछौंः कप्तान घलान
गोलनेपाल

काठमाडौं । सोमबारदेखि भारतको भुवनेश्वरमा शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालले जितका साथ प्रतियोगिताको शुरुवात गर्ने बताएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान आयुष घलानले माल्दिभ्स विरुद्धको उद्घाटन खेलमा निश्चित जित र तीन अंकका लागि मैदानमा उत्रिने बताए । ‘प्रतियोगिताका लागि कडा मेहनत गरेका छौं । माल्दिभ्स विरुद्ध हामी तीन अंक जोड्न सक्षम छौं । हामीले आफ्नोतर्फबाट उत्कृष्ट खेल्नेछौं ।’ घलानले भने ।

भुवनेश्वर स्थित कालिंगका स्टेडियममा नेपाल र माल्दिभ्स विरुद्धको खेल नेपाली समयअनुसार साँझ ४ः१५ बजेदेखि शुरु हुनेछ । नेपालको सिनियर टोलीबाट पनि आफूलाई सही रुपमा प्रमाणित गरिसकेका घलानले माल्दिभ्स विरुद्ध नेपाललाई कुनै दबाब नहुने र निश्चित जितका लागि उत्कृष्ट खेल पस्कने बताए ।

विपक्षी विरुद्ध अनभित्र छन् प्रशिक्षक केसी

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यु–२० च्याम्पियनसिपमा सहभागिता जनाईरहेका विपक्षी टोलीहरुबारे आफ्नो अनभिज्ञता प्रकट गरे । उनी भन्छन्, ‘विपक्षी टिमहरुबारे खासै थाहा छैन । तर उनीहरु सबै राम्रा छन् भन्ने मलाई लागेको छ । हामीले डेढ महिनादेखि अभ्यास गरिरहेका छौं र प्रतियोगितामा राम्रो गर्नेमा विश्वस्त पनि छौं ।’

साथै सो अवसरमा प्रशिक्षक केसीले यस प्रतियोगिता युवा खेलाडीहरुका लागि राम्रो प्लेटफर्म रहेको पनि प्रतिक्रिया दिए । उनले प्रतियोगिता आयोजना गरेकोमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) र अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) लाई पनि धन्यवाद दिए ।

स्मरण रहोस, प्रतियोगितामा नेपालसँगै आयोजक भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका रहेका छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । आयोजक भारत प्रतियोगिताको साविक विजेता समेत हो ।

 

Post Comments