News नेपाल भर्सेस श्रीलंकाः लगातार दोस्रो जितको योजना
गोलनेपाल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपतर्फ नेपालले आज श्रीलंकाको सामना गर्दा लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ, युवा टिम नेपाल । आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएर उपाधिको बलियो प्रत्याशी मध्ये एकका रुपमा उभ्याएको नेपाल उत्साहित पनि छ ।

नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले विपक्षी टिमप्रति अनभिज्ञता प्रकट गरे तापनि नेपाली टिमको प्रदर्शन र आफ्नो रणनीतिप्रति सकरात्मक छन् । नेपालले आजको खेल जित्न सके फाइनल प्रवेशको सम्भावना पनि सहज र केही बलियो हुने सम्भावना छ ।

माल्दिभ्स विरुद्ध नेपालको प्रदर्शनलाई हेर्ने हो भने आज श्रीलंका विरुद्ध पनि नेपालको जितको सम्भावना बलियो छ । तर मैदानमा कुनै पनि विपक्षी टिमलाई कमजोर आँक्नु भने मुर्खता हुनेछ । जुन कुरा नेपाली युवा खेलाडीहरुले राम्रोसँग बुझेको हुनुपर्छ ।

श्रीलंकाले आफ्नो पहिलो खेलमा बंगलादेशसँग ०–१ को साँघुरो अन्तरको हार बेहोरेको थियो । यद्यपि खेलमा श्रीलंकाको प्रदर्शन समग्रमा औषत तर राम्रो थियो । त्यो खेललाई नियाल्दा श्रीलंकाले आज नेपाललाई कडा चुनौति दिन सक्ने सम्भावना पनि छ । लगातार दोस्रो जित र फाइनलको सम्भावना बलियो बनाउने योजनामा रहेको नेपालको यात्रामा श्रीलंका बाधक बन्न पनि सक्छ ।

तर नेपालले पहिलो खेलमा गरेको प्रदर्शनलाई आज श्रीलंका विरुद्ध पनि दोहोर्याउन सके नेपाली टोलीको जित सुनिश्चित रहेको धेरैको बुझाई पनि छ । ९० मिनटको खेलमा जस्तोसुकै नतिजा पनि आउन सक्ने भएकोले नेपाली खेलाडीहरुले श्रीलंकालाई हलुका रुपमा लिनु हुँदैन भन्ने कुरा पनि हेक्का राख्नुपर्छ ।

नेपालले प्रतियोगितामा अझै पनि दुई महत्वपूर्ण खेलहरु खेल्न बाँकी छ । जसमा नेपालका प्रतिद्वन्द्वी भारत र बंगलादेश छन् । यस अर्थमा पनि नेपाल अहिले नै ढुक्क भईसक्ने स्थितिमा भने छैन ।

नेपाल र श्रीलंका विरुद्ध आज हुने खेल भुवनेश्वर स्थित कालिंगा स्टेडियमम हुनेछ । जुन खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेदेखि शुरु हुनेछ ।

Post Comments