News नेपालको लगातार दोस्रो उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । जारी साफ यु–२० प्रतियोगितामा शुरुवाती खेलबाटै उत्कृष्ट लयमा रहेको नेपालले बुधबार लगातार दोस्रो उत्कृष्ट जित हात पारेको छ । कालिंगा स्टेडियममा सम्पन्न आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले हरायो र फाइनल प्रवेशको सम्भावनालाई बलियो बनायो ।

खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेले । पाएका केही अवसरलाई गुमाएको नेपालले गोलको खाता खोल्न दोस्रो हाफसम्म पर्खनु पर्यो । ५८औं मिनटमा बक्स भित्रबाट कप्तान आयुष घलानले पहिलो गोल गर्दै नेपाललाई खेलमा अग्रता दिलाए ।

लगतै ६५औं मिनटमा क्रितेश रत्न छुन्जुले त्यो अग्रता दोब्बर पारे । श्रीलंकन गोलरक्षकले क्लियर गरि रिबाउण्ड भएको बललाई बक्सबाहिर रहेका छुन्जुले उत्कृष्ट गोलमा परिणत गरे । त्यस्तै अन्तिमतिर ८४औं मिनटमा सुगम सुवालको पासलमा मनग्य नकर्मीले नेपाली युथ टोलीका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

लगातार दोस्रो जित हात पारेको नेपालको २ खेलबाट ६ अंक भएको छ र अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो । त्यस्तै बुधबार सम्पन्न पहिलो खेलमा आयोजक तथा साविक विजेता भारतलाई २–१ ले हराएको बंगलादेशको पनि ६ अंक छ । बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो तेस्रो खेलमा आइतबार आयोजक भारतको सामना गर्नेछ । त्यस्तै सोही दिन अर्को खेलमा श्रीलंका र माल्दिभ्स पनि भिड्ने छन् । लगातार दुई हार बेहोरेको श्रीलंकाको फाइनल प्रवेशको सम्भावना कठिन बनेको छ ।

Post Comments