News चितवन गोल्डकपलाई इसुजुको साथ
सुरज राना मगर

चितवन । यहि भाद्र अन्तिम सातादेखि शुरु हुन गईरहेको प्रथम चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताले चर्चित अटोमोबाईल्स कम्पनी इसुजुलाई मूख्य प्रायोजकका रुपमा पाएको छ ।

यहि भाद्र २५ देखि असोज ३ गतेसम्म हुन गईरहेको प्रतियोगिताका लागि शुक्रबार आयोजक केबिए ग्लोबल भरतपुर एफसी र इसुजुबीच प्रायोजन सम्झौता भएको हो ।

इसुजुले प्रतियोगिता आयोजनाका लागि मुख्य प्रायोजन गरेको प्रतियोगिता संयोजक ध्रुव भुषालले बताए । सम्झौता कार्यक्रममा क्लबका तर्फबाट प्रतियोगिता संयोजक ध्रुव भुसाल तथा इसुजुका लागि चितवनका शाखा प्रबन्धक ईश्वरमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रमपछि बहुप्रतिष्ठित अटोमोबाईल्स कम्पनीलाई प्रतियोगिताको मूख्य प्रायोजनका रुपमा पाउँदा आफूहरु निकै उत्साहित र खुशी रहेको संयोजक भुषालले बताए । यो सम्झौताले जिल्लामा हुने अन्य फुटबल प्रतियोगिताहरुमा पनि व्यापारिक घरानाहरुको सहयोग र सहभागिता रहने अपेक्षा गरे ।

उता इसुजुका शाखा प्रबन्ध ईश्वरमान श्रेष्ठले चितवन गोल्डकप जिल्ला कै प्रतिष्ठासँग जोडिएकोले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सहकार्य गर्ने अवसर पाउँदा आफूहरु पनि उत्साहित रहेको बताए ।

यो सम्झौतासँगै अब प्रतियोगिताको नाम इसुजु प्रथम चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता रहने आयोजकले जानकारी दियो ।

स्मरण रहोस, नारायणगढ स्थित क्याम्पाचौर मैदानमा हुन गईरहेको प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहनेछ । चितवन कै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments