News व्यास मेयर कपमा पाँच खेलहरु सम्पन्न
गोलनेपाल

दमौली । प्रतिकुल मौसमका कारण यहाँ जारी प्रथम व्यास मेयर कप सेभेन ए साईड खुला फुटबल प्रतियोगितातर्फ आइतबार पाँच खेलहरु सम्पन्न भएका छन् ।

बिपी बनबाटिका खेलमैदानमा भएको पहिलो खेलमा नवयुवा क्लबले चापाकोट युनाइटेडलाई ३–२ ले हरायो । नवयुवाका लागि सन्तोष गुरुङले दुई गोल गरे भने अजित लामाले एक गोल गरे । उता पराजित चापाकोटका लागि अमित घर्ती र सफल आचार्यले गोल फर्काएका थिए ।

दोस्रो खेलमा दोभान युथ क्लबले हैरान्स क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयतर्फको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तेस्रो खेलमा काहुमिलन युथ क्लबले नवदिप युथ क्लबलाई २–० ले हरायो । काहुमिलनका लागि दुवै गोल अमृत सारुले गरे ।

दिनको चौथो खेलमा व्यास युवा समाजले भादगाउँ एफसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि नियमित समयतर्फको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

अन्तिम तथा पाँचौ खेलमा न्यु बुद्ध भानुले बयरघारी स्याङ्जालाई ३–१ ले हरायो । न्यु बुद्धको जितमा सदिप राना, शिव गुरुङ र हम आलेले गोल गरे । उता पराजित बयरघारीका लागि यकु मगरले एक मात्र गोल फर्काए ।

शितल चोक युथ क्लब, तनहुँको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि भाद्र १५ गतेका दिन हुनेछ ।

Post Comments