News फराकिलो जितका साथ सञ्जिवनी क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । फराकिलो जित हात पार्दै सञ्जिवनी युवा क्लब, देवीनगर यहाँ जारी स्व. डिम बहादुर स्मृति २०औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ सञ्जिवनीले डि युनिटी क्लब, खैरेनीलाई ८–२ को फराकिलो अन्तरले हरायो । सञ्जिनीको जितमा सुरज घलानले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै यदु सिलवालले दुई गोल गरे भने आशिष गुरुङ र अनुप बुढा मगरले थप एक–एक गोल गरे ।

उता पराजित डि युनिटीका लागि मनिष थापा र मनिष तामाङले गोल गरे । खेलमा चार गोल गरेका सञ्जिवनीका सुरज घलान म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत भाद्र २३ गते बिहीबारको खेल मुर्गिया एफसी, मुर्गिया र अञ्चलपुर युवा क्लब, अञ्चलपुर बीच हुने खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो असोज ३ गतेका दिन हुनेछ ।

Post Comments