News मिक्लाजुङ गाउँपालिका तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा प्रवेश
गोलनेपाल

संघर्षपूर्ण जीतबाट मिक्लाजुङ गाउँपालिका यहाँ जारी तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय पृथ्वी माविको खेलमैदान आयोजित अन्तिम सेमिफाइनल खेलमा फिदिम नगरपालिकालाई सडन डेथमा ८–७ गोलले पराजित गर्दै मिक्लाजुङले बाजी मारेको हो ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । तर, टाइब्रेकरमा पनि समान ३–३ गोल भएपछि निर्णय सडन डेथबाट भएको हो ।

निर्धारित समयमा गोलको खाता भने फिदिमका मनोज केरुङले खोलेका थिए । पहिलो हाफको २९औँ मिनेटमा पाएको अवसरलाई सदुपयोग गर्दै मनोजले मिक्लाजुङको गोलपोस्टमा जाली चुमाएका थिए ।

तर, दोस्रो हाफको ४ मिनेटमै मिक्लाजुङ खेलमा फर्कन सफल बन्यो । उसका लागि दिपेश बर्देवाले गोल गरेका हुन् । दोस्रो हाफमा खेलमा केही घम्साघम्सी भयो । कार्डको वर्षा भएको खेलमा फिदिमका कप्तान शरण बस्नेतले दोस्रो हाफको १५औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिए ।

टच लाइनबाट बल बाहिरिँदै गर्दा शरणले मिक्लाजुङका दिपेशलाई अनावश्यक ड्यासिङ दिएर लडाएपछि फिदिम ८ खेलाडीमा सीमित बन्यो । तर, पछिल्लो गोल भने फिदिमका खेलाडीले नै गरे ।

फिदिमका लागि दोस्रो कप्तान बनेका जीवन भण्डारीले गोल गरेका हुन् । प्रविण जबेगुको प्रहार मिक्लाजुङका गोलरक्षक श्रृजन बर्देवाको हातबाट फुत्केको बललाई अनमार्क रहेका जीवनले गोलपोस्टको दिशा दिएका हुन् ।

दर्शकको समर्थन पाएको मिक्लाजुङका लागि बराबरी गोल भने खेलको अन्तिम समयमा भएको थियो । इन्जुरी समयमा घनेन्द्र आङ्देम्बेले मिलाइदिएको ब्याक पासलाई कन्ट्रोल गर्दै मिक्लाजुङका कप्तान दिपक बस्नेतले प्रहार गरेको लेफ्ट फुटेट सट गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ दी म्याच मिक्लाजुङका गोलकिपर श्रृजन बर्देवा घोषित भए । उनलाई आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले नगद ३ हजार प्रदान गरे । त्यस्तै, दिपेश बर्देवाको खेल मन पराएर स्थानीय व्यवसायी प्रकाश काफ्लेले नगद एक हजार प्रदान गरे ।

गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ । गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।

Post Comments