News फोर ब्रदर्शका लागि सुरेश बने निर्णायक
सुरज राना मगर

तिलोत्तमा । खेलको अन्तिमतिर सुरेश कुमाल निर्णायक बन्दा फोर ब्रदर्श एफसी, नवलपरासी जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा फोर ब्रदर्शले राईजिङ स्टार युथ क्लब, कपिलवस्तुलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पशुपति माविको खेलमैदानमा भएको खेलको ३२औं मिनटमा राम बहादुर मगरको गोलबाट राइजिङले खेलमा अग्रता लिएको थियो ।

यद्यपि दोस्रो हाफमा फोर ब्रदर्श खेलमा फर्कियो । दोस्रो हाफको चौथो मिनट मै कप्तान कृपा चौधरीले फोर ब्रदर्शका लागि बराबरी गोल फर्काए । त्यस्तै खेल सकिन केही मिनट मात्र बाँकी छँदा सुरेश कुमालले फोर ब्रदर्शका लागि निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

खेलमा फोर ब्रदर्शका एलिस मगर म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ २८ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल सञ्जिवनी युवा क्लब, देवीनगर र वालिङ युनाइटेड, स्याङ्जा बीच हुने प्रचार प्रसार संयोजक मनोज क्षेत्रीले जानकारी दिए ।

लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो असोज ३ गतेका दिन हुनेछ ।

Post Comments