News भारी मन र शुभेच्छाका साथ विदेशिए रोहित
सुरज राना मगर

काठमाडौं । नेपाली फुटबलमा अनिश्चितताको अन्ध्यारो मडारिंदै गएपछि नेपाली खेलाडीहरुले आफ्नो भविष्य पनि अन्धकार नै देख्न थालेका छन् । उमेर समूहतर्फ नेपालको सबै जसो राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका क्षमतावान गोलरक्षक रोहित कार्की पनि आफ्नो भविष्य सुनिश्चितताका लागि विदेशिएका छन् ।

आउँदो पुषमा उमेरले भर्खरै २० टेक्न लागेका रोहितले बाध्यतात्मक रुपमै विदेशिनु परेको दुःखेसो पोखे । ‘फुटबल खेल्ने क्लबहरुले नै नेपाल सुपर लिग (एनएसएल) गर्न दिएनन् । भनेको बेला पारिश्रमिक पनि दिदैनन् । कसरी चलाउने खेलेर जिन्दगी?’ रोहितले दुःखेसोसँगै गुनासो पोखे ।

ए डिभिजन लिगमा संकटा क्लबका लागि खेलेका उनले एनएसएलको पहिलो संस्करण ललितपुर सिटी एफसीमा आवद्ध भएर खेलेका थिए । यस सिजन हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा भने उनी बिराटनगर सिटी एफसीमा बिक्री भएका थिए । तर एनएसएलको आयोजना अनिश्चित भन्दा उनी जस्तो थुप्रै खेलाडीहरु निराश बन्न पुगेका थिए ।

आफ्नो भविष्य बनाउन रोहित हाल अष्ट्रेलिया पुगिसकेका छन् । नेपाल छाडे पनि उनले उनले नेपाली फुटबलका लागि भने शुभेच्छा दिन बिर्सेनन् । भन्छन्, ‘खेलाडीहरुको देश छोड्नै पर्ने बाध्यात्मक स्थिति हुनु भएन । लिग निरन्तर होस, विवाद नहोस, खेलाडीले राम्रो पारिश्रमिक पाउन । म सधै नेपाली फुटबलको भलाईका लागि शुभेच्छा दिन चाहन्छु ।’

एन्फा एकेडेमी कै उत्पादन रोहितले कुराकानी कै क्रममा अष्ट्रेलिया मै भविष्य सुनिश्चित गर्न आफूले प्रयास गर्ने बताए । साथै फुटबलबाट तत्काल अलग हुन नसक्ने बताउँदै उनले त्यहाँ पनि सकेसम्म फुटबल खेलिरहने पनि स्पष्ट पारे ।

Post Comments