News फाइनलमा धनकुटा र मोरङ भिड्ने
गोलनेपाल

धनकुटा । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा मोरङ–११ र धनकुटा फुटबल संघ भिड्ने भएका छन् ।

धनकुटा स्थित टुंडिखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा मोरङले कन्काई नगरपालिका, झापालाई टाइब्रेकरमा २–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको वुमन अफ द म्याच मोरङकी कल्पना क्षेत्री घोषित भईन् । उनले पुरस्कार वापत नगद ३ हजार र मेडल प्राप्त गरिन् ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा धनकुटा फुटबल संघले कर्णसिंह सोनाम फुटबल क्लब, ताप्लेजुङलाई १–० ले हरायो । धनकुटाको जितमा सन्ध्या रमतेलले खेलको ५९औं मिनटमा एक मात्र निर्णायक गोल गरिन् ।

खेलको वुमन अफ द म्याच धनकुटाकी निर्णायक गोलकर्ता सन्ध्या नै घोषित भईन् । उनले पनि पुरस्कार वापत नगद ३ हजार र मेडल प्राप्त गरिन् । अब उपाधिका लागि धनकुटा र मोरङले यहि माघ ७ गते मंगलबार फाइनल खेल्नेछन् ।

शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटाको आयोजना, धनकुटा जिल्ला फुटबल संघको प्राविधिक सहयोग र धनकुटा नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments