News नव युवा गोल्डकपको उपाधि अर्जुनधाराको पोल्टामा
रमेश समदर्शी

अर्जुनधारा । नेपालीहरुको चाड बडा दसैँको उपलक्ष्यमा झापाको अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ । अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा स्पर्धी बिर्तामोड युनाइटेडलाई २-० गोलको नतिजाबाट स्तब्ध पार्दै अर्जुनधाराले उपाधि रक्षा गरेको हो ।

आयोजक अर्जुनधाराका लागि विकास खवास र सौरभ लिम्बूले गोल गरे । रोमाञ्चक खेलमा बिर्तामोडले दबाब सिर्जना गरे पनि सुरुवाती अग्रता अर्जुनधाराले लिएको थियो । खेलको १२औँ मिनेटमा अर्जुनधाराका विकास खवासले गोल गर्दै अग्रता दिलाए ।

निरन्तर दबाब दिइरहेको बिर्तामोडले केही समय अर्जुनधाराको हाफ ग्राउण्ड नै कब्जा गरे पनि स्कोर गर्न भने सकेन । घरेलु मैदानमा घरेलु समर्थकको पाएको अर्जुनधाराले दोस्रो हाफमा थप गोल गर्न सफल रह्यो ।

खेलको ५५औँ मिनेटमा अर्जुनधाराका सौरभ लिम्बूले गोल गरेका हुन् । उनले वान भर्सेज वानमा बिर्तामोडका गोलरक्षकलाई बिट गर्दै रित्तो पोस्टमा गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच आयोजकका सौरभ लिम्बू घोषित भए । उनलाई युवा व्यवसायी सुरेन राईले नगद १५ सय प्रदान गरे । विधागत पुरस्कारमा पनि आयोजकका खेलाडीको वर्चश्व रह्यो ।

खेलको बेस्ट डिफेन्स एजिस खड्का, बेस्ट मिडफिल्डर रोमन भुजेल, राइजिङ प्लेयर निश्चल बस्नेत घोषित हुँदा सर्वाधिक गोलकर्ता पनि आयोजककै पुजन राई बने । उनले सर्वाधिक ३ गोल गरेका थिए । यस्तै, उत्कृष्ट गोलरक्षक आयोजककै सञ्जय गुरुङ घोषित हुँदा म्यान अफ दी टुर्नामेन्ट श्याम मुर्मु बने । उनीहरुले जनही ३ हजार प्राप्त गरे । 

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको समापन अवसरमा स्थानीय पूर्व खेलाडी र जग्गा दातालाई सम्मान गरिएको थियो ।

पूर्व खेलाडीहरु धनबहादुर काफ्ले, खुसबहादुर खड्का र कृष्णबहादुर थापा छन् भने जग्गा दाता भीम काफ्लेलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले सम्मान प्रदान गरे ।

असोज ९ गतेदेखि सुरु भएको गोल्डकपको विजेता र उपविजेताले नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उनीहरुलाई नगर प्रमुख गोम्देन, वडा नम्बर ४ का अध्यक्ष अमर कटुवाल, ७ का अध्यक्ष गोविन्द खतिवडा, आयोजक क्लबका अध्यक्ष देवेन्द्र मैनाली, अनिष न्यौपानेलगायतले ट्रफी र नगद प्रदान गरेका थिए 

Post Comments