News यु–१७ एसियन कपमा छनौट हुने लक्ष्यः प्रशिक्षक श्रेष्ठ
गोलनेपाल

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौट खेल्न भियतनाम पुगेको नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगितामा छनौट हुने आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक श्रेष्ठले भने “प्राथमिक लक्ष्य भनेको छनोट हुने नै हो । त्यसो हुन नसके कमसेकम समूहमा दोस्रो हुने र छनोटको ढोका खुला राख्ने हाम्रो चाहना होे । समूहमा बलिया टिम छन् । हामी पनि बलियो नै छौँ । हामी राम्रो खेल देखाउन चाहन्छौँ ।”

छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले आयोजक भियतनामसँगै थाईल्याण्ड र चाइनिज ताईपेसँग खेल्ने कार्यक्रम छ । प्रशिक्षक श्रेष्ठले नेपालको समूहमा रहेका सबै टोलीहरुको स्तर समान रहेको चर्चा पनि गरे ।

प्रशिक्षक श्रेष्ठ अगाडी भन्छन्, “समूहका अरु तीन टिमको खेल हामीले देखेका छैनौँ । तर मलाई लाग्छ यो उमेर समूहमा लगभग सबै टिमको स्तर उस्तै हुन्छ । सबै टिमका खेलाडी सिकाइकै क्रममा हुन्छन् । सबै टिमका किशोर खेलाडी जोसिला नै हुन्छन् । मुख्य कुरा खेलाडीले मैदानमा आफ्ना प्रशिक्षकले योजना बनाए अनुसारले खेल्न सक्छन् कि सक्दैनन् भन्ने हो । जुन टिमले प्रशिक्षकको योजना सफल बनाउँछ, त्यही टिमले नतिजा आफ्नो पक्षमा पार्छ ।”

प्रतियोगितामा जित र हार निश्चित भए तापनि सबै टोलीको मानसिकता जित्नु नै पर्छ भन्ने भएकोले त्यसलाई आफूले स्वभाविक रुपमा लिएको बताए । साथै उनले यस छनौट प्रतियोगितालाई नेपाली फुटबलका लागि आफ्नो स्तर र प्रतिभा देखाउने मञ्चका रुपमा लिएको पनि चर्चा गरे । उनी भन्छन्, “यहाँ राम्रा खेल्न सके, एसियाली मञ्चमा नेपाली फुटबलले प्रतिस्पर्धा गर्नसक्छ भनेर फेरि एकपटक प्रमाणित हुनेछ ।”

छनौट प्रतियोगिता खेल्न भियतनाम पुगिसकेको नेपाली टोलीले मंगलबार हलुका अभ्यास पनि गरेको छ । छनौट प्रतियोगिता अन्तरगत नेपालले बुधबार पहिलो खेल थाईल्याण्डसँग खेल्ने कार्यक्रम छ । जुन खेल नेपाली समयअनुसार २ः४५ बजेदेखि शुरु हुनेछ ।

Post Comments