News बकलौरीलाई मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकपको उपाधि
गोलनेपाल

बराहक्षेत्र । मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि बकलौरी फुटबल क्लब, रामधुनी, सुनसरीले जितेको छ । मंगलबार भएको उपाधि भिडन्तमा बकलौरीले शान्तिनगर फुटबल क्लब, इटहरीलाई ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

श्री महेन्द्र माविको खेलमैदानमा सम्पन्न खेलको ४३औं मिनटमा गिल्लसन लिम्बुको गोलबाट बकलौरीले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ५६औं मिनटमा रोशन भुजेलले त्यो अग्रता दोब्बर बनाए ।

यद्यपि खेलको ८६औं मिनटमा सुशन तामाङले शान्तिनगरका लागि एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने झिनो प्रयास गरे पनि सफल भएनन् । त्यसको केही मिनट ल गतै इन्जुरी समयमा गिलसन लिम्बुले नै व्यक्तिगत दोस्रो तथा बकलौरीका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच शान्तिनगरका अब्दुल चुनिए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । विजेता बनेको बकलौरीले उपा धिसहित नगद १ लाख ७५ हजार हात पार्दा उपविजेता शान्तिनगरले १ लाखमा चित्त बुझायो ।

उत्कृष्ट गोलरक्षक बकलौरीका संजिव श्रेष्ठ चुनिए भने उत्कृष्ट डिफेन्डर शान्तिनगरका एकराज बुढाथोकी बने । उत्कृष्ट मिडफिल्डर पनि शान्तिनगर कै आशिष राई बन्दा उत्कृष्ट फरवार्ड बकलौरीका शिशिर लेखी चुनिए । उत्कृष्ट प्रशिक्षक बकलौरीका निशान लिम्बु बने ।

उदीयमान खेलाडी आयोजक कल्चरल ग्रीन क्लबका निशान श्रेष्ठ घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार शान्तिनगरका विजय भुजेल, लिटल किकर्सका निमा तामाङ, बकलौरीका गिलसन लिम्बुले संयुक्त रुपमा हात पारे । सबैले जनही २–२ हजार प्राप्त गरे । अन्य उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बकलौरी कै रोशन भुजेल बने । उनले पुरस्कार वापत नगद १० हजारसहित ट्रफी हात पारे ।

 

 

 

Post Comments