News एएफसी यु–१७ एसियन कप छनौटमा नेपालको खराब समापन
गोलनेपाल

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौट खेल्न भियतनाम पुगेको नेपाली टोलीले एउटै खेल नजिती प्रतियोगिताको खराब समापन गरेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार दश खेलाडीमा सिमित नेपालले चाइनिज ताईपेईसँग ४–२ को हार बेहोर्दै छनौट प्रतियोगिताको यात्रा खराब रुपमा समापन गरेको हो ।

छनौट प्रतियोगितामा नेपालले कुल १२ गोल खाँदै विपक्षी विरुद्ध दुई गोल मात्र फर्काउन सक्यो । त्यो दुई गोल पनि आइतबार भएको ताइपेई विरुद्धको खेलमा गरेको गोल नै थियो ।

आइतबार खेलको तेस्रो मिनट मै ताइपेईका लागि लि हाई–चेङले पहिलो गोलको खाता खोलेका थिए । तर लगतै दशौं मिनटमा नेपालका कप्तान प्रशान्त लक्षमले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको प हिलो हाफ कै २८औं मिनटमा ताई यान–याओले ताईपेईका लागि दोस्रो गोल थपे ।

तर पनि नेपाल फेरि खेलमा फर्कियो । नेपालका लागि धन सिंह बिकले दोस्रो गोल थपे । र खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याए । यद्यपि नेपालका दिपक थापा मगरले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा खुम्चिन पुग्यो । जसको फाईदा चाइपेईले उठायो ।

ताईपेईका लागि ली यी–टिङ तेस्रो गोल थपे भने लिन हाई–चेङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ताईपेईको जित जित पक्का गरे । यो जित ताइपेईका लागि सान्त्वना जित बन्यो । अन्तिम खेलको यो जितपछि ३ खेलबाट ३ अंक जोडेको ताइपेई समूह एफको तेस्रो स्थानमा रहँदा अंकविहीन नेपाल पुछारमा रह्यो ।

शिर्ष दुईमा ६–६ अंक जोडेका आयोजक भियतनाम र थाइल्याण्ड छन् । यी दुई टोली आइतबार राती नै निर्णायक खेलमा भिड्दै छन् । जुन खेलको नतिजाले समूह एफबाट एएफसी यु–१७ एसियन कप छनौटमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

Post Comments