News दोस्रो जनप्रेमी कप शुरु, एरोनको ह्याट्रिकमा डोना एफएको जित
सुरज राना मगर

वाणगंगा । कपिलवस्तु जिल्लामा आफ्नै पहिचान बनाई अगाडी बढ्ने जमर्को गरेको जनप्रेमी कप खुला नकआउट फुटबल प्रतियोगिताको दोस्रो संस्करण आइतबारदेखि शुरु भएको छ ।

वाणगंगा नगरपालिका–२ स्थित बैजलपुर खेलमैदानमा भएको उद्घाटन खेलमा डोना फुटबल एकेडेमीले दर्पण युवा क्लबमाथि ४–० को उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

डोना एफएको जितमा कप्तान एरोन थापाले ह्याट्रिक गरे भने थप एक गोल एलन थापाले गरे । खेलमा ह्याट्रिक गरेका एरोन नै खेलको म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै डोना एफए प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत असोज २४ गते दुई खेलहरु हुनेछन् । पहिलो खेल मुर्गिया एफसी र सिर्जनशील युवा क्लबबीच हुनेछ भने दोस्रो खेल आयोजक जनप्रेमी युवा क्लब (बी) र कन्दरा एफसीबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले गरेका थिए । श्री जनप्रेमी युवा क्लब, वाणगंगा–२, पिपराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४०,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिलिप गाहा मगरले जानकारी दिए ।

व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गाहाले बताए । रुपन्देही र कपिलवस्तुका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि असोज ३० गतेका दिन हुनेछ ।

क्लब र प्रतियोगितालाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यः अध्यक्ष दिलिप गाहा

उद्घाटन कार्यक्रममा आफ्नो प्रतिक्रिया दिने क्रममा आयोजक क्लबका अध्यक्ष दिलिप गाहा मगरले श्री जनप्रेमी युवा क्लब र जनप्रेमी कपलाई राष्ट्रियस्तर मै चिनाउने महत्वाकांक्षी योजना रहेको बताए । ‘सिमित श्रोत र साधनका बीच प्रतियोगिता आयोजना गर्नु ठूलो चुनौति भए पनि हामी यसलाई राष्ट्रियस्तरमा चिनाउन प्रयासरत छौं ।’ अध्यक्ष गाहाले भने ।

उनका अनुसार कपिलवस्तु जिल्लामा फुटबल गतिविधी शुन्य सरह हुँदा यो जनप्रेमी कपले जिल्लाभित्र फुटबललाई थप सक्रिय बनाउन टेवा पुग्ने दावी समेत गरे । उनी अगाडी भन्छन्, ‘जिल्लामा राम्रा स्थानीय खेलाडीहरु पनि छन् । प्रतियोगिता आयोजना गर्दा उनीहरुका लागि पनि खेल क्षमता देखाउने एउटा प्लेटफर्म बन्छ ।’

फुटबल प्रतियोगिता आयोजना गर्दा मुख्य पाटोका रुपमा आर्थिक पक्ष रहेको औल्याउँदै अध्यक्ष गाहाले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सबैतर्फबाट सकेको सहयोग मिल्ने अपेक्षा र अनुरोध समेत गरे ।

 

Post Comments