News एकतप्पामा चमैताको विजयी सुरुवात
रमेश समदर्शी

दोकान डाँडा । इलामको फाकफोमथुम ७ स्थित दोकान डाँडामा दिपावलीको अवसरमा आयोजित फुटबल प्रतियोगितामा देउमाई नगरपालिका १ को डिएनएफसी चमैताले विजयी सुरुवात गरेको छ ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा शुक्रबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा स्पर्धी युमा माङ एफसी फाकफोमथुम ७ लाई ६–० गोलको अन्तरले पराजित गर्दै चमैता दोस्रो चरणमा प्रवेश गरेको छ ।

एकोहोरो दबाब सिर्जना गरेको चमैताले पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । बाँकी ५ गोल दोस्रो हाफमा सम्भव भयो । जसमा चमैताका खेलाडीले ह्याट्रिक पूरा गरेका थिए ।

खेलको ५ मिनेटमा गोल गर्दै रविन मगरले पहिलो गोल गर्न सफल भएका हुन् । दोस्रो हाफको खेल सुरु भएको १ मिनेटमै गोल गर्दै टिमलाई उनैले अग्रता दोब्बर बनाएका थिए । यस्तै स्वस्तिक राईले दोस्रो हाफको ४ मिनेटमा गोल गरेर अग्रता तेब्बर बनाएका थिए ।

दोस्रो हाफमा चमैताका लागि सनिल राईले ह्याट्रिक गरे । उनले दोस्रो हाफको १०, २० र २५औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् ।

यसअघि उद्घाटन कार्यक्रम आयोजक समितिका अध्यक्ष पदम लिम्बूको अध्यक्षता तथा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । भोलि श्रीजंघा धुसेनी एफसीविरुद्ध फाकफोकथुम ४ फुङवाबीच हुनेछ भने अर्को खेल फाकफोकथुम ७ र सिंहलपा एफसीबीच हुनेछ ।

Post Comments