News पुरुष फुटबलमा एपिएफको फराकिलो जित
गोलनेपाल
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एपिएफ विजयी भएको छ । लामाचौर खेल मैदान गोस्टेघाटमा भएको समूह ‘बी’ अन्तरगतको खेलमा एपिएफले मधेश प्रदेशलाई ६–० गोलअन्तरले हराएको हो ।
 
पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा १–० को अग्रता लिएको भए पनि दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो । खेलको १२ औं मिनेटमा मधेश प्रदेशका रितिक खडकाले दोस्रो बार च्याप्दै प्रहार गरेको फ्रिकिकमा एपिएफका कप्तान टोपबहादुर विष्ट बाधक बन्दा मधेश अग्रता लिनबाट चुक्यो । खेलको २२ औं मिनेटमा एपिएफका टोप बहादुर विष्टको क्रसमा प्रदिप लामाको हेड क्रसबार नजिकैबाट बाहिरियो ।
 
त्यस्तै खेलको २४ औं मिनेटमा हरि कार्कीले प्रहार गरेको बल क्रसबार नजिकबाट बाहिरिदा एपिएफलाई गोल संख्या दोब्बर गर्ने अवसर गुमेको थियो ।
 
३० औं मिनटमा मधेश प्रदेशका डिफेन्डरले एपिएफका प्रदिप लामालाई डिबक्स भित्र ट्याक्ल गरेपछि एपिएफले पेनाल्टीको अवसर पाएको हो । उक्त अवसरलाई आवास लामिछानेले चुक्न दिएन । उनले गरेको प्रहार मधेश प्रदेशका गोलरक्षक खुम बहादुर श्रेष्ठले बचाउ गर्न सकेन । .त्यो संगै एपिएफ १–० गोलले अघि रह्यो ।
 
खेलको ३५ औं मिनेटमा एपिएफका सनिस श्रेष्ठले पास दिएको बललाई नविन लामाले जालीको दिशा दिन सकेनन । ४४ औं मिनेटमा मधेशका क्रिपाकान्त चौधरीले सेन्टरलाईबाट बल अघि बढाउँदै दिएको उत्कृष्ट पासलाई विवेक चौधरी फिनिसिङ गर्नबाट चुके ।
 
४८ औं मिनेटमा एपिएफका श्रनविक्रम बस्नेतको पासमा प्रदिप लामाको प्रहारलाई मधेश प्रदेशका गोलरक्षक खुम बहादुर श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ५९ औं मिनेटमा विकु तमाङले दिएको पासमा प्रदिप लामाले सहजै गोल गर्दै आफ्नो टीमको लागि गोल संख्या दोब्बर पारे ।
 
७१ औं मिनेटमा प्रदिप लामाले टर्निक गर्दै दिएको पासमा विकु तामाङले उत्कृट गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पु¥याए । खेलको ८१ औं मिनेटमा प्रदिप लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको अन्तिम अन्तिम मिनेटमा मणि लामा र युवराज खड्काले समान १÷१ गोल गर्दे आफ्नो टीमको लागि गोल संख्या आधा दर्जन पु¥याएको हो ।
 
हारसँगै अंक विहिन बनेको मधेश प्रदेश लिगचरणबाटै बाहिरिएको छ । मधेश यसअघि बागमतिसँग २–० को हार व्यहोरेको थियो ।
Post Comments