News सताक्षीधाम सप्तकोशी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । साँघुरो जितका साथ सताक्षीधाम फुटबल क्लब, झापा यहाँ जारी नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार श्री बसन्त ऋतु माविको खेलमैदानमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा सताक्षीधामले न्यु स्टार फुटबल क्लब, कालाबंजरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

सताक्षीधामका लागि दोस्रो हाफको ३२औं मिनटमा प्रितम लिम्बुले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता प्रितम लिम्बु नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत कार्तिक २ गते बुधबारको पहिलो सेमिफाइनल खेल सयपत्री फुटबल क्लब, सुनसरी र पथरी स्र्पोटिङ क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

श्री सप्तकोशी युवा क्लब, बराहक्षेत्र–७, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक ५ गतेका दिन हुनेछ ।

Post Comments