News आङसराङ फाइभ स्टार र फाल्गुनन्दको जित
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएका छन् । जसमा पाँचथरको आङसराङ फाइभ स्टार एफसी र स्थानीय फाल्गुनन्द खेलकुद विकास समिति एकतप्पा विजयी भएका छन् ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको पहिलो खेलमा आङसराङ फाइभ स्टारले स्पर्धी पाँचथरकै एभरग्रीन एफसीलाई पराजित गर्यो । झिनो गोलअन्तरमा पराजित गर्दै आङसराङ फाइभ स्टारले दोस्रो चरणमा स्थान बनायो । उसका लागि प्रदिप आङदेम्वेले निर्णायक गोल गरेका थिए ।

खेलको १०औँ मिनेटमा एकमात्र गोल प्रदिपले गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

यसैगरी, दोस्रो खेलमा एकताप्पाको फाल्गुनन्द खेलकुद विकास समितिले देउमाई नगरपालिकाको पुङफुङ एपफसीमाथि ३ १ गोलको जित दर्ता गर्यो । प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल फाल्गुनन्दका खेलाडी विवेक आङदेम्वे –म्याग्नेट)ले खेलको १४औँ मिनेटमा गरेका थिए ।

यस्तै, सुबास तामाङले खेलको २६औँ र ३९औँ मिनेटमा गोल गर्दै फराकिलो नतिजा निकालेका थिए । यसैबीच, ४०औँ मिनेटमा पुङफुङ एफसीका लागि कप्तान मुकेश मगरले गोल फर्काए पनि टिमलाई खेलमा फर्काउन भने सकेनन् । खेलको म्यान अफ दी म्याच विजेता टिम फाल्गुनन्दका सुबास तामाङ घोषित भए ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । भोलि पहिलो चरणको अन्तिम खेल स्व. आलामी गजराज योङहाङ सोसल ट्रष्ट र फाकफोकथुम ६ बीच खेल हुनेछ । दोस्रो खेलमा डिएफसी चमैताले पितामरुङ एफसीसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछन् ।

Post Comments