News पितामरुङ सेमिफाइनलमा प्रवेश
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा बुधबारको पहिलो क्वाटरफाइनल खेलबाट डिएक्सएन पितामरुङ एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, पहिलो चरणको अन्तिम खेलमा जित निकाल्दै स्व. गजराज योङहाङ अमाली सोसियल ट्रष्ट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा पितामरुङले शानदार जित दर्ता गर्दै सेमिफाइनल यात्रा गरेको हो । देउमाई नगरपालिकाको डिएनएफसी चमैतालाई ३–० गोलअन्तरले पराजित गर्दै पिताम्बरुले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

उसका लागि खेलको दोस्रो मिनेटमै उमेश राईले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै २८औँ मिनेटमा मनिष थापाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने ५२औँ मिनेटमा दिनेश शेर्माले थप गोल गरेर शानदार जित दर्ता गरे । खेलको म्यान अफ दी म्याच दिनेश शर्मा घोषित भए ।

यसैगरी, पहिलो चरणको अन्तिम खेलमा प्रतियोगिताकै पहिलो टाइब्रेकरबाट जित निकालेर अमाली सोसियल ट्रष्ट क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरी भएपछि स्पर्धी धार्मिक निर्माण सेवा फाकफोकथुम ६ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको हो ।

खेलको १७औँ मिनेटमा ट्रष्टका पारुलेन राईले गोल गरेर अग्रता बनाए पनि कायम राख्न सकेन । धार्मिक निर्माण सेवाका निंग्मा तामाङले २८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए । खेलको म्यान अफ द म्याच ट्रष्टका गोलरक्षक सुजन बर्देवा घोषित भए ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । भोलि पाँचथरको आङसाराङ एफसी र इलामको साङरुम्बा एफसी तथा कोलबोटे एफसी र माई एफसीबीच क्वाटरफाइनलका खेल हुनेछ ।

Post Comments