News पथरी सप्तकोशी गोल्डकपको फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । प्रभावशाली जितका साथ पथरी स्र्पोटिङ क्लब, मोरङ यहाँ जारी नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली सयपत्री फुटबल क्लब, बराहक्षेत्रलाई १–३ ले हराउँदै पथरी उपाधि नजिक पुगेको हो । श्री बसन्त ऋतु माविको खेलमैदानमा भएको खेलको दशौं मिनट मै अभिषेक गुरुङको गोलबाट पथरीले अग्रता लिएको थियो । ३०औं मिनटमा विजय भुजेलले त्यो अग्रता दोब्बर पारे ।

उता दोस्रो हाफको २५औं मिनटमा सौजन याक्खाले सयपत्रीका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । त्यस लगतै दोस्रो हाफ कै ३४औं मिनटमा विवेक पौडेलले पथरीका लागि तेस्रो गोल गर्दै टोलीको प्रभावशाली जित सुनिश्चित गरे ।

खेलमा पथरीका विजय भुजेल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक ३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सताक्षीधाम फुटबल क्लब, झापा र आयोजक सप्तकोशी युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सप्तकोश युवा क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यहि कार्तिक ५ गतेका दिन हुनेछ ।

Post Comments