News साबित्रा चम्किदा एपिएफलाई स्वर्ण
गोलनेपाल

वालिङ । राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले स्वर्ण पदक जित्न सफल भएको छ । बिहीबार स्वर्ण पदकका लागि भएको फाइनल भिडन्तमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै स्वर्णमाथि कब्जा जमाउन सफल भएको हो ।

वालिङ खेलमैदानमा भएको खेलमा एपिएफका लागि दुवै गोल साबित्रा भण्डारीले गरिन् । साबित्राले सेमिफाइनलमा आर्मी विरुद्ध १–० को जित निकाल्दा पनि एक मात्र निर्णायक गोल गरेकी थिईन् । फाइनलमा पराजित पुलिसले रजत पदकमा चित्त बुझाएको छ ।

त्यस्तै बिहीबार नै काँस्य पदकका लागि भएको भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लबले प्रदेश १ लाई हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । स्मरण रहोस, प्रदेश १ सेमिफाइनलमा पुलिससँग हार बेहोरेको थियो ।

Post Comments