News कोलबोटे र चौबन्दी सेमिफाइनलमा
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा शुक्रबारको दुई खेलबाट कोलबोटे एफसी र डिएक्सएन पितामरुङ एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको क्वाटरफाइनल खेलमा कोलबोटे एफसीले लाहुरे टोली स्व. अलामी गजराज योङहाङ सोसियल ट्रष्टलाई टाइब्रेकरमा पराजित गरेर सेमिफाइनल खेलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलपछि टाइब्रेकरमा कोलबोटेले ३–१ गोलमा बाजी मारेको हो ।

निर्धारित समयको खेलको ८औँ मिनेटमा दिपेश बर्देवाले गोल गर्दै लाहुरे टोलीलाई अग्रता दिलाएका थिए । तर, १४औँ मिनेटमा आशिष राईले गोल गरेर खेलमा फर्काएका थिए ।

टाइब्रेकरमा बादल तामाङ, निर्जल बोहोरा र विवेक बोहोराको प्रहार कोलबोटेका गोलरक्षक रोशन लिम्बू बचाएका थिए भने पारुलेन राईको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

कोलबोटेका लागि रुद्र लिम्बू, आशिष राई र अनिष खड्काको प्रहार गोलमा परिणत हुँदा कप्तान टंक लिम्बूको प्रहार लाहुरे टोलीका गोलरक्षक श्रीजन बर्देवाले रोकेका थिए । खेलको म्यान अफ दी म्याच कोलबोटेका गोलरक्षक रोशन लिम्बू घोषित भए ।

यसअघिको खेलमा सिंहलपा एफसी समयमा उपस्थित नभएपछि आयोजक समितिको नियम र निर्णयअनुसार स्पर्धी चौबन्दी एफसीलाई वाकओभर घोषणा गरेको थियो । चौबन्दी पनि सेमिफाइनलमा प्रवेश गरेको हो ।

भोलि साङरुम्बा एफसी र फाल्गुनन्द एफसीले प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल खेल्नेछन् । यस्तै, दोस्रो खेलमा डिएक्सएन पितामरुङ एफसी र कोलबोटे एफसीले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेल खेल्नेछ ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments