News फाल्गुनन्द र पितामरुङ उपाधिका लागि भिड्ने
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगिताको फाइनलमा फाल्गुनन्द एफसी र पितामरुङ एफसी भिड्ने पक्का भएको छ ।

आइतबार सम्पन्न दुवै सेमिफाइनल खेलको नतिजाअनुसार उपाधि भिडन्तमा फाल्गुनन्द र पितामरुङले आमने सामने गर्नेछन् । दुवै टोलीको फाइनल यात्रा टाइब्रेकरबाट सम्भव भएको हो ।

हिजो भएको पहिलो सेमिफाइनलमा पितामरुङ र कोलबोटे एफसीले गोलरहित बराबरी खेलेको थिए । तर, खराब मौसमका कारण टाइब्रेकर सम्भव भएको थिएन । आज गरिएको टाइब्रेकरमा कोलबोटेलाई ५–४ गोलअन्तरले पराजित गर्दै पितामरुङले कम्तिमा कम्तिमा ५० हजार सुरक्षित गरेको छ ।

यस्तै, आज भएको अन्तिम सेमिफाइनलमा फाल्गुनन्द एफसीले पनि चौबन्दी एफसीलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फाल्गुनन्दले बाजी मारेको हो । खेलको २ मिनेटमै रुपेन लिम्बूले गोल गरेर चौबन्दीलाई अग्रता दिलाएका थिए । उनैले दोस्रो हाफको ४ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए पनि अग्रता जोगाउन नसक्दा हारको सामना गर्नु पर्यो ।

दोस्रो हाफको १५औँ मिनेटमा फाल्गुनन्दका सुबास तामाङले आकर्षक गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । यस्तै, १७औँ मिनेटमा मिन धिमालले गोल गर्दै खेललाई बराबरीमा पुराएका हुन् ।

निर्णयका लागि रोजिएको टाइब्रेकरमा ४–२ गोलअन्तरले फाल्गुनन्द विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गर्यो । उसका लागि गोलरक्षक चरी लिम्बू, म्याग्नेट लिम्बू, सुबास तामाङ र साइमन लिम्बूको प्रहार गोलमा परिणत हुँदा कप्तान तारा फागोको प्रहार गोलपोस्टमा लाग्दै बाहिरियो ।

चौबन्दीका लागि कप्तान रोशन धिमाल र टेकेन रानामगरको प्रहारमात्र गोलमा परिणत भयो । रुपेन लिम्बूको प्रहार बाहिरिँदा निकेश श्रेष्ठको प्रहार विपक्षी गोलरक्षक चरी लिम्बूले रोकेका थिए ।

यसअघि आयोजक र फाकफोकथुम गाउँपालिकाका कर्मचारीबीच भएको मैत्रीपूर्ण खेलमा आयोजक विजयी भएको थियो । आयोजकले कर्मचारीलाई २–० गोलले पराजित गरेको हो । आयोजकका लागि विप्लव थापा र रायन लिम्बूले प्रहार गरेका थिए । विजेताले २० हजार मूल्यबराबरको खसी प्राप्त गरेको छ ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भोलि (सोमबार) हुनेछ । विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments