News फाल्गुनन्दलाई दिपावली कपको उपाधि
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा आयोजित दिपावली नकआउट फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द एफसीले जितेको छ । आज भएको फाइनल खेलमा फाल्गुनन्दले पितामरुङ एफसीलाई २–१ गोलले पराजित गरेको हो ।

सोमबार सम्पन्न फाइनल खेलमा पहिलो अग्रता भने पितामरुङले लिएको थियो । १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फाल्गुनन्दले नतिजा आफ्नो पक्षमा पारेको हो ।

प्हिलो हाफको २२औँ मिनेटमा पितामरुङले गोल गर्दै अग्रता लिएको थियो । उसका लागि सतोष खजुमले गोल गरेका थिए । तर, फाल्गुनन्दका खेलाडीले दोस्रो हाफमा दबाब सिर्जना गर्दै नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

फाल्गुनन्दका लागि सुबास तामाङले दोस्रो हाफको १०औँ मिनेटमा कडा प्रहार गर्दै खेललाई बराबरीमा पुराएका थिए । यस्तै, फाल्गुनन्दका कप्तान तारा फागोले दोस्रो बार च्याप्दै गरेको प्रहार फर्किएर गोलपोस्टभित्र पसेको थियो ।

खेलको उत्कृष्ट खेलाडी फाल्गुनन्दका कप्तान तारा फागो भए । यस्तै, सर्वाधिक गोलकर्ता चौबन्दी एफसीका रुपेन लिम्बू बन्दा उत्कृष्ट गोलरक्षक फाल्गुनन्दका चरी लिम्बूु बने । यस्तै, उदयीमान खेलाडी फाल्गुनन्दका म्याग्नेट लिम्बू घोषित भए ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाएको छ भने उपविजेताले ५० हजारमा चित्त बुझाएको छ । आयोजक समितिका अध्यक्ष पदम लिम्बूको अध्यक्षता तथा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

Post Comments