News ग्रासरुट लिगमा न्यु होराइजनलाई दोहोरो उपाधि
सुरज राना मगर

बुटवल । रुपन्देहीमा सम्पन्न एन्फा ग्रासरुट लिग अन्तर विद्यालय छात्र तथा छात्रा फुटबलतर्फ न्यु होराइजन इङलिस बोर्डिङ स्कुलले दोहोरो उपाधि जितेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको प्रतियोगिताको यु–१३ तथा यु–१० छात्र फुटबलतर्फको उपाधि न्यु होराइजनले जित्यो । संयोग कस्तो रह्यो भन्दा दुवै विधातर्फ होराइजनले फाइनलमा सिद्धार्थ इङलिस बोर्डिङ स्कुललाई हरायो ।

छात्रतर्फ यु–१३ को फाइनल भिडन्तमा न्यु होराइजनले सिद्धार्थलाई २–० ले पराजित गर्यो भने छात्रतर्फ कै यु–१० फाइनल िभडन्तमा न्यु होराइजनले सिद्धार्थलाई ४–२ ले निराश तुल्यो ।

त्यस्तै छात्रातर्फ यु–१३ को उपाधि स्मृति इङलिस बोडिङ स्कुलले जित्यो । फाइनलमा स्मृतिले अरनिको इङलिस बोर्डिङ स्कुललाई ४–० ले हराउँदै विजेता बन्न सफल भयो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग र व्यवस्थानमा भएको ग्रासरुट लिगतर्फ छात्र तथा छात्रातर्फ गरी कुल १५ विद्यालयहरुको सहभागिता रहेको खेलसंयोजक प्रकाश गुरुङले जानकारी दिए ।

समापन कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार), एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि बहादुर गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुन, सचिव शंकर मल्लाह, एकेडेमीका प्रशिक्षक पुकार गहतराज लगायतको उपस्थिति रहेको थियो ।

Post Comments