News नेपालको फाइनल स्क्वाड घोषणा, टिममा छैनन् किरन
गोलनेपाल

काठमाडौं । पाकिस्तान विरुद्ध खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपाली टोलीले कार्तिक ३० गतेका दिन पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

घोषित फाइनल स्क्वाडमा नियमित गोलरक्षक तथा कप्तान किरन चेम्जोङ भने छैनन् । उनी हाल आई लिग क्लब राउण्डग्लास पञ्जाब एफसीमा आवद्ध छन् । साथै हिरो आई लिगको नयाँ सिजन शनिबारदेखि शुरु हुँदैछ । सोही कारणले गर्दा पनि किरनको सहभागिता नरहने बुझिएको छ ।

टोलीमा अर्का भरपर्दा खेलाडी मनिष डाँगी पनि छैनन् । प्रारम्भिक टोलीमा उनको नाम परे तापनि उनी पनि हाल बहराइनमा व्यवसायीक फुटबल खेलिरहेकाले उनको उपस्थिति पनि नहुने तय भएको हो ।

एन्फाले नेपाल र पाकिस्तान बीचको खेलको टिकट मुल्य पनि बिहीबार मात्र घोषणा गरेको थियो । जसअन्तरगत सामान्यतर्फ ५ सय, भिआइपीतर्फ १ हजार तथा भिभिआईपीतर्फ ५ हजार टिकट मुल्य तोकिएको छ । त्यस्तै भिभिआईपी टिकट खरिद गर्ने एक जना भाग्यशाली दर्शकलाई कतार विश्वकप हेर्ने अवसर मिल्ने पनि एन्फाले जनाएको छ ।

हालै फिफाको लामो प्रतिवन्ध पश्चात अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानी फुटबल टोली आइतबार नेपाल आइपुग्ने बताइएको छ ।

यस्तो छ नेपालको फाइनल स्क्वाडः

गोलरक्षकः बिकेश कुथु, बिशाल श्रेष्ठ, दिप कार्की

डिफेन्डर्सः रोहित चन्द, अनन्त तामाङ, बिकास तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, बिकास खवास, निशान खड्का

मिडफिल्डर्सः तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, एरिकबिष्ट, पुजन उपरकोटी, आवास लामिछाने

फरवार्डसः अन्जन बिष्ट, बिमल घर्ती मगर, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, रितिक खड्का

Post Comments