News ढाकामा नेपालको त्यो ऐतिहासिक उपाधि
गोलनेपाल

काठमाडौं । नेपालको यु–१५ महिला फुटबल टोलीले शुक्रबार सम्पन्न साफ यु–१५ महिला च्याम्पियनसिपको उपाधि ऐतिहासिक रुपमा पहिलोपटक जित्न सफल भएको छ । नेपाली चेलीहरुले प्रतियोगिताको चौथो संस्करणमा यो ऐतिहासिक उपलब्धी आत्मसात गर्न सफल भएका हुन् ।

ढाका स्थित बिर सेरेष्ट शहिद सिपाही मुस्तफा कमल स्टेडियममा सम्पन्न निर्णायक खेलमा नेपालले आयोजक तथा दावेदार बंगलादेशसँग १–१ को बराबरी खेल्यो र समग्रमा अंकतालिकाको शिर्ष स्थानमा रहेर च्याम्पियन बन्न सफल भयो । नेपाललाई उपाधि जित्न शुक्रबारको खेलमा निश्चित जित वा बराबरी प्रर्याप्त थियो ।

नेपालले समग्रमा चार खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा रहँदा बंगलादेशले ७ अंक मात्र जोड्न सक्यो । प्रतियोगिता कै अर्को टोली भुटान भने अंकविहीन रुपमा पुछारमा रह्यो ।

मंगलबार नेपालका लागि १५औं मिनटमा सुशिला केसीले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएकी थिईन् । यद्यपि दोस्रो हाफको ५४औं मिनटमा रुमा अक्तरले घरेलु टोलीका लागि गोल फर्काएकी थिईन् । एक समय नेपाल हारकोसंघारमा पनि थियो ।

खेलको अन्तिमतिर बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो । तर विपक्षी खेलाडीको पेनाल्टी प्रहार नेपालकी गोलरक्षक सुजाता तामाङले सुन्दर बचाउ गर्दै नेपाललाई ऐतिहासिक जित दिलाउन नायकीय भूमिका खेलेकी थिईन् ।

स्मरण रहोस, बंगलादेशको यो लगातार चौथो फाइनल थियो । प्रतियोगिताको पहिलो संस्करण जितेको बंगलादेशले दोस्रो र तेस्रो संस्करणको फाइनलमा भने भारतसँग पराजित भएको थियो ।

Post Comments