News साउदी निराश, अष्ट्रेलियाको आश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा विश्वकपतर्फ आफ्नो पहिलो खेलमा दावेदार अर्जेन्टिनालाई हराएर उत्साहित बनेको साउदी अरेबियाले शनिबार पोल्याण्डसँग २–० को हार बेहोरेको छ ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलको ३९औं मिनटमा पिटर जिलिन्स्कीको गोलबाट पोल्याण्डले खेलमा अग्रता बनाएको थियो । लगतै पहिलो हाफ कै अतिरिक्त समयमा साउदीले पेनाल्टीको अवसर पाएको थियो । तर साउदीका अल दावसरीको पेनाल्टी प्रहार पोलिस गोलरक्षकले जोगाएका थिए ।

त्यस्तै खेलको अन्तिमतिर ८२औं मिनटमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पोल्याण्डका लागि दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । विश्वकपमा लेवान्डोस्कीको यो पहिलो गोल समेत थियो ।

यो जितपछि आफ्नो २ खेलबाट ४ अंक जोडेको पोल्याण्ड समूह सी को शिर्ष स्थानमा छ । पोल्याण्डले आफ्नो पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको थियो । पराजित साउदी ३ अंकका साथ दोस्रो स्थानमा छ । समूह सी तर्फ आज मध्यरात मै अर्जेन्टिना र मेक्सिको भिड्दै छन् ।

अष्ट्रेलियाको आशा कायमै

त्यस्तै समूह डी तर्फ आफ्नो पहिलो खेलमा विश्व विजेता फ्रान्ससँग ४–१ ले पराजित भएको अष्ट्रेलियाले शनिबार ट्युनिसयामाथि १–० को महत्वपूर्ण जित निकाल्यो र नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावना कायम राख्यो ।

पहिलो हाफको २३औं मिनटमा मिचेल ड्युकले गरेको एक मात्र गोल अष्ट्रेलियाले तीन अंक दिलाउन निर्णायक बन्यो । स्मरण रहोस, ट्युनिसियाले आफ्नो पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।

Post Comments