News फ्रान्स पराजित, १६ वर्षपछि अष्ट्रेलिया नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपतर्फ समूह डी तर्फको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्स पराजित भएको छ । नकआउट चरणमा यसअघि नै स्थान बनाईसकेको फ्रान्सले बुधबार ट्युनिसियासँग ०–१ को हार बेहोर्यो ।

एजुकेशन सिटी स्टेडियममा सम्पन्न खेलमा ट्युनिसियाका लागि ५८औं मिनटमा वाहबी खज्रीले एक मात्र निर्णायक गोल गरे । महत्वपूर्ण जित निकाले पनि ट्युनिसियाको भाग्य भने चम्किन सकेन ।

समूह डी कै अर्को खेलमा अष्ट्रेलियाले पनि डेनमार्क माथि १–० को जित निकालेपछि नकआउट चरणमा पुग्ने ट्युनिसियाको सपना समाप्त भएको हो । फ्रान्स र अष्ट्रेलियाको समान ६–६ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा फ्रान्स समूह विजेता बन्दा अष्ट्रेलिया समूह उपविजेता बन्यो ।

त्यस्तै अष्ट्रेलियाका लागि डेनमार्कमाथिको त्यो जित ऐतिहासिक पनि बन्यो । अष्ट्रेलियाले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भयो । यसअघि अष्ट्रेलियाले अन्तिमपटक सन् २००६ मा जर्मनीमा भएको फिफा विश्वकपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

बुधबारको नतिजापछि समूह डी बाट ४ र १ अंक जोडेका क्रमशः ट्युनिसिया र डेनमार्क भने समूह चरणबाटै बाहिरिएका छन् ।

Post Comments