News अर्जेन्टिना समूह विजेता, पोल्याण्ड पनि नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा विश्वकपमा खराब शुरुवात गरेको अर्जेन्टिनाले अन्ततः उत्कृष्ट पूनःरागमन गर्दै समूह सी को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ ।

पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित बनेको अर्जेन्टिनाले त्यसयता सुन्दर खेल पस्किदै मेक्सिको र अन्तिम खेलमा पोल्याण्डलाई हरायो । बुधबार राती अन्तिम खेलमा पोल्याण्डलाई २–० ले हराउँदा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले भने एक पेनाल्टी मिस गरे ।

मेसीले पहिलो हाफमा भार (भिडियो एसिस्टेन्ट रेफ्री) को सहयोगमा पाएको पेनाल्टी प्रहार पोल्याण्डका गोलरक्षकले आकर्षक रुपमा जोगाएका थिए । त्यस्तै ४६औं मिनटमा एलेक्सिस एलिस्टरले अर्जेन्टिनाका लागि पहिलो गोलको खाता खोले । ६७औं मिनटमा जुलियन अल्वारेजले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

समूह सी मा समग्रमा ३ खेलबाट ६ अंक जोडेको अर्जेन्टिना शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्यो । त्यस्तै हारका बावजुद पनि गोल भिन्नताका आधारमा पोल्याण्ड ४ अंकका साथ दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो । बुधबार नै भएको अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २–१ ले हराए तापनि गोल भिन्नताका आधारमा मेक्सिको पछि पर्न पुग्यो ।

पोल्याण्डसँगै समान ४ अंक जोडे तापनि मेक्सिको तेस्रो स्थानमा रहन बाध्य बन्यो । त्यस्तै मेक्सिकोसँग आफू अनुकुल नतिजा निकालेको भए साउदी पनि ऐतिहासिक रुपमा नकआउट चरणमा पुग्ने संघारमा थियो । तर, पराजित हुन पुग्यो । ३ खेलबाट ३ अंक मात्र जोडेको साउदी समूह सी को पुछारमा रहेर विश्वकपको यात्रा टुग्याउन बाध्य बन्यो ।

Post Comments