News फराकिलो जितका साथ पोर्चुगल क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युवा फरवार्ड गोन्कालो रेमोसले ह्याट्रिक गरेपछि स्वीजरल्याण्डमाथि ६–१ को फराकिलो जितका साथ पोर्चुगल जारी फिफा विश्वकपको क्वाटरफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

आफ्नो नियमित कप्तान तथा स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै उनको स्थानमा पोर्चुगलले २१ वर्षिय रेमोसलाई मैदानमा उतारेको थियो । आफूलाई पहिलो रोजाईमा अवसर दिएपछि प्रशिक्षक फर्नान्डो सान्तोषको निर्णयलाई रेमोसले सही साबित गरिदिए ।

खेलको १७औं मिनटमा रेमोसले पहिलो गोलको खाता खोलेका थिए । शुरुवातबाटै खेलमा हावी देखिएको पोर्चुगलका लागि ३३औं मिनटमा पेपेले दोस्रो गोल थपे । ५१औं मिनटमा रेमोसले नै व्यक्तिगत दोस्रो तथा टोलीका तेस्रो गोल गरे भने लगतै ५५औं मिनटमा राफेल गुरेरोले पोर्चुगलका लागि चौथो गोल गर्न सफल भए ।

उता ५८औं मिनटमा म्यानुअल अकेन्जीले स्वीजरल्याण्डका लागि एक गोल फर्काए तर टोलीलाई फराकिलो हारबाट जोगाउन सकेनन् । ६७औं मिनटमा रेमोसले पोर्चुगलका लागि पाँचौं गोल गर्दा आफ्नो ह्याट्रिक पनि पूरा गरे । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका राफेल लिआओले इन्जुरी समयमा पोर्चुगलका लागि छैठौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

पोर्चुगलले क्वाटरफाइनलमा १० डिसेम्बरका दिन मोरक्कोको सामना गर्नेछ । मोरक्कोले मंगलबार नै भएको अर्को प्रिक्वाटरफाइनलमा बलियो स्पेनलाई पेनाल्टी शुटआउटमा ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

Post Comments