News फर्साटिकर र आयोजक भैरवको जित
सुरज राना मगर

बर्दघाट । प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब र आयोजक भैरव स्पोर्टस क्लबले जित हात पारेका छन् । फर्साटिकरले जित निकाल्ने क्रममा हर्नटाँड स्पोर्टस क्लब, भारतमाथि २–१ को जित निकाल्यो ।

फर्साटिकरका लागि दुवै गोल क्षितिजराज जिटीले गरे । उता पराजित हर्नटाँडका लागि कप्तान कमलेशले पेनाल्टीमार्फत एक मात्र गोल फर्काएका थिए । खेलमा फर्साटिकरका लागि दुई गोल गरेका क्षितिजराज जिटी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आयोजक भैरवले नव युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । भैरवको जितमा म्यान अफ द म्याच समेत घोषित विज्ञान गुरुङले एक मात्र निर्णायक गोल गरे । यो जितसँगै भैरव भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भैरव स्पोर्टस क्लब, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार पाउने आयोजक क्लबका अध्यक्ष अन्जन अधिकारीले बताए । प्रतियोगिताको फाइनल खेल पुष २ गतेका दिन हुनेछ ।

Post Comments