News नमूना च्यालेञ्ज कप मंसिर अन्तिमदेखि (खेलतालिकासहित)
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । नमुना सामुदायिक युवा क्लब अर्जुनधाराले आयोजना गरेको प्रतियोगिता दुई वटा विदेशी टिमसहित ८ टिम सहभागी हुनेछन् ।

 आयोजक क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । क्लबका अध्यक्ष आर.के. महतराका अनुसार आयोजक क्लबसँगै भारत र अमेरिकाको १/१ वटा टिम र ललितपुर, सुनसरी, मोरङ, इलाम र झापाको टिमले प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा इलामको रेडहर्ष एफसी, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, मोरङको डाँगीहाट एफसी, सुनसरीको एन्फा एकाडेमी धरान, आयोजक नमुना सामुदायिक युवा क्लब, ललितपुरको सुनाकोठी सिटी एफसी, भारतको एबीसी एकाडेमी र अमेरिकाको बीवाईसीले सहभागिता जनाएका छन् । 

क्लबका अध्यक्ष महतराका अनुसार प्रतियोगिताको तयारी ७० प्रतिशत पूरा भइसकेको छ भने प्रतियोगिता सम्पन्न गर्न १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत रहेको रकम स्थानीय विद्यालयमा अध्ययनरत कक्षा ५ मुनिका विद्यार्थीलाई फुटबल प्रशिक्षणमा खर्च गरिने उनले बताए । 

७ वटा उपसमिति खडा गरी तयारी तीव्र बनाइएको बताउँदै क्लबका सचिव सुरेन्द्र गिरीले पुस ७ गते सम्पन्न हुने फाइनल खेलको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ रुपैयाँ र ट्रफी पाउने जानकारी दिए । 

यस्तै, खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद २ हजार र उत्कृष्ट खेलाडी, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डको व्यक्तिगत विधातर्फ पनि नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

 पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, राष्ट्रिय खेलाडी विशाल राई, देवेन्द्र तामाङ, ९ नम्बर खेलकुद विकास समितिका अध्यक्ष सुरेन राईलगायतको उपस्थिति थियो । राष्ट्रिय खेलाडीद्वय यसै नगरका बासिन्दा हुन् ।

Post Comments