News अर्जेन्टिनालाई फाइनल पुर्याउन मेसीको ‘मास्टर पिस’
गोलनेपाल

काठमाडौं (एजेन्सी) । प्रेरणादायी स्टार कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिना जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । समग्रमा यो अर्जेन्टिनाको छैठौं विश्वकप फाइनल समेत हो ।

लुसेल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले गत संस्करणको उपविजेता क्रोएशियालाई ३–० ले हरायो र उपाधि नजिक पुग्यो । यो जितसँगै अर्जेन्टिनाले सन् २०१८ को विश्वकपमा क्रोएशियासँग बेहोरेकोसमान अन्तरको हारको बदला पनि लिएको छ ।

लुसेल स्टेडियममा सम्पन्न खेलमा मेसीले ३४औं मिनटमा पेनाल्टीबाट अर्जेन्टिनाका लागि पहिलो गोल गरे । अल्वारेजलाई विपक्षी गोलरक्षकले बक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मेसीले सहज रुपमा सदुपयोग गरे ।

त्यसलगतै ३९औं मिनटमा अल्वारेजले अर्जेन्टिनी टोलीका लागि दोस्रो गोल गरे भने दोस्रो हाफको ६९औं व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे र जित सुनिश्चित गरे । अल्वारेजको दुवै गोलमा मेसीको योगदान अहम थियो ।

अर्जेन्टिनाले फाइनलमा अब बुधबार अबेर राती शुरु हुने साविक विजेता फ्रान्स र मोरक्को बीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

Post Comments