News फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साविक विजेता फ्रान्स कतारमा जारी प्रतिष्ठित फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सको यो लगातार दोस्रो विश्वकप फाइनल समेत हो ।

बुधबार अबेर राती सम्पन्न दोस्रो सेमिफाइनलमा फ्रान्सले अफ्रिकी प्रतिद्वन्द्वी मोरक्कोलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । पहिलोपटक विश्वकपको सेमिफाइनल खेल्ने एक्लो अफ्रिकी देश बनेको मोरक्कोले शुरुवात मै गोल खान पुग्दा उसको रक्षापंक्ति धरमराउन पुगेको थियो ।

खेल शुरु भएको पाँचौं मिनट मै थियो हर्नान्डेजले फ्रान्सका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रेन्डल कोलो मुनीले ७९औं मिनटमा दोस्रो गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरेका थिए ।

फ्रान्सले अब फाइनलमा उपाधिका लागि आइतबार अर्जेन्टिनाको सामना गर्नेछ । उता पराजित मोरक्कोले भने शनिबार तेस्रो स्थानका लागि क्रोएशियासँग खेल्नेछ । स्मरणीय छ, अर्जेन्टिनाले मंगलबार अबेर राती भएको पहिलो सेमिफाइनलमा क्रोएशियालाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाईसकेको छ ।

Post Comments