News गण्डकी–११ विरुद्ध काथेरेन्योः नेपाली फुटबललाई अर्को अवसर
गोलनेपाल

काठमाडौं । यहि पुष महिनामा हुन गईरहेको गण्डकी–११ र स्पेनिस चौथो डिभिजनको टोली कोरेन्यो एफसीबीचको मैत्रीपूर्ण खेलबारे अहिले नेपाली फुटबलमा चौतर्फी चर्चा चलिरहेको छ । हाल घरेलु फुटबल शून्यता र अन्यौलतामा रहेका बेला यो मैत्रीपूर्ण फुटबल म्याचबारे चर्चा चल्नु पनि स्वभाविक हो ।

कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेशनले ‘शान्तीका लागि फुटबल’ भन्ने मूल नाराका साथ यो मैत्रीपूर्ण फुटबलको आयोजना हुँदैछ । नेपाली फुटबल खेलको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो मैत्रीपूर्ण फुटबल म्याचको आयोजना हुने आयोजकले जनाएको छ । जसको प्रत्यक्ष सकरात्मक असर नेपाली फुटबल र पर्यटनमा देखिने निश्चित छ ।

स्पेनिस टोलीसँग केही नाम चलेका खेलाडीहरु पनि आउने चर्चा छ । साथै स्पेनिस फुटबल फेडरेशनका उपाध्यक्ष पनि टोलीसँगै नेपाल आउने बताइएको छ । स्पेनिस एफए र एन्फाबीच फुटबलमा सहकार्यका लागि सम्झौतापत्र पनि गराउने योजना र पक्षमा आयोजक रहेको छ ।

पोखरा रंगशालामा हुने सो मैत्रीपूर्ण खेलका लागि नेपालका पूर्व कप्तान तथा फरवार्ड अनिल गुरुङले गण्डकी–११ को नेतृत्व गर्ने बताइएको छ । जसको प्रशिक्षकीय जिम्मेवारी पनि घरेलु फुटबलमा राम्रै अनुभव संगालेका फुटबल प्रशिक्षक राजेन्द्र तामाङको काँधमा हुनेछ ।

यो मैत्रीपुर्ण फुटबल म्याच कै बेला स्पेनिस फुटबल एकेडेमी र नेपालका एकेडेमीहरुबीच र्दिघकालिन सहकार्यको लागि वातावरण सिर्जना गर्ने योजना र प्रयास पनि आयोजकको रहनेछ । स्पेनिस प्रशिक्षकहरुलाई नेपालमा बोलाएर यहाँका खेलाडीहरुलाई प्रशिक्षण दिने तथा स्पेनमा लगेर त्यहि अनुसार प्रशिक्षणको व्यवस्था मिलाउने महत्वाकांक्षी योजना पनि आयोजकसँग छ ।

आयोजक लुम्बिनी गार्डेन फाउण्डेशनका अनुसार स्पेनिस टोलीसँग उतैको राष्ट्रिय टेलिभिजन टिम पनि आउनेछ । जसले यहाँको वृतचित्र बनाई स्पेनसहित अन्य युरोपियन मुलुकहरुमा देखाउने पनि बताइएको छ । यो अर्थमा फुटबल मात्र नभएर नेपालको पयर्टन पक्षमा पनि अझै मजबुत हुनुका साथै सबल बन्ने सम्भावना पनि छ ।

Post Comments