News बाँके जिल्ला फुटबल संघको मानार्थ उपाध्यक्षमा देबेन्द्र र सुशिल मनोनित
गोलनेपाल

नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको मानार्थ उपाध्यक्षमा धम्बोझी क्लब नेपालगन्जका अध्यक्ष देबेन्द्र खड्का र पुर्व फुटबल खेलाडी सुशिल मल्ललाई मनोनित गरिएको छ ।

बाँके जिल्ला फुटबल संघको शनिबार बसेको बैठकले जिल्लाको फुटबल विकासमा योगदान गरेका दुई व्यक्तिलाई उपाध्यक्षमा मनोनित गरेको हो ।

उपाध्यक्षमा मनोनित खड्का धम्बोझी क्लबको नेतृत्वमा छन् । उनको नेतृत्वमा धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट कपमा उप–विजेता बन्दै राष्ट्रिय लिग फुटबलका लागि छनोट हुन सफल भएको थियो ।

राष्ट्रिय लिग एन्फाले आयोजना गर्ने तयारी गरेको सर्वाधिक ठुलो प्रतियोगिता हो । जहाँ मोफसल र काठमाडौंमा भएका ए डिभिजन फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । खड्काको नेतृत्वमा धम्बोझीले लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि समेत जित्न सफल भएको थियो ।

उपाध्यक्षमा मनोनित मल्ल खजुरा गाउँपालिका वडा नम्बर २ ‘ए’ गाउँ निवासी हुन् । हाल उनी जापानमा छन् । रोजगारीको सिलशिलामा जापानमा भएपनि सुशिलले बाँके जिल्लामा फुटबल प्रतियोगिता आयोजना र फुटबल खेलको विकासमा महत्वपुर्ण योगदान गर्दै आएका छन् । बाँकेमा हुने नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता र खजुरा गाउँपालिका वडा नम्बर १ मा हुने श्याम थापा स्मृति कप फुटबल प्रतियोगिता लगायत अन्य विभिन्न गतिविधिमा मल्लले महत्वपुर्ण सहयोग गर्दै आएका छन् ।

शनिबार अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले दुई जनालाई मानार्थ उपाध्यक्षमा मनोनित गरेको हो ।

बाँके जिल्लामा फुटबल खेललाई व्यवसायिक रुपमा विकास गर्न सहयोग गर्ने व्यक्तिलाई मानार्थ उपाध्यक्ष पदमा मनोनित गरेर सम्मान गरिएको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले बताए ।

यसैगरी शनिबार बसेको बैठकले जिल्लाव्यापी मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता फागुनको पहिलो सातामा आयोजना गर्ने निर्णय गरिएको महासचिव खत्रीले बताए ।

मेयर कप छात्र–छात्रा फुटबल आयोजनाको लागि बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको संघले जनाएको छ ।

बाँके जिल्ला फुटबल संघले आगामी दिनमा फुटबल खेलको विकास गर्ने उद्देश्यले अन्य विविध कार्यक्रमहरु योजनावद्ध रुपमा गर्ने तयारी गरिरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बताए । उनले भने, ‘पछिल्ला केहि वर्ष कोरोना र आर्थिक मन्दीका कारण फुटबलका गतिविधि गर्न निकै समस्या परेको थियो । अब हामी विस्तारै फुटबलका गतिविधि बढाउने तयारीका साथ अघि बढिरहेका छौं । त्यसका लागि योजनावद्ध रुपमा काम गर्ने हाम्रो लक्ष्य छ ।’

 

 

 

Post Comments