News अर्जेन्टिना बन्यो विश्व च्याम्पियन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । रोमाञ्चक र प्रतिस्पर्धात्मक जितका साथ अर्जेन्टिना तेस्रोपटक फिफा विश्वकपको च्याम्पियन बनेको छ । आइतबार अबेर राती सम्पन्न फाइनल भिडन्तमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै ऐतिहासिक उपाधि जित्न सफल भएको हो । स्मरण रहोस, अर्जेन्टिनाले अन्तिमपटक सन् १९८६ को विश्वकपको जितेको थियो ।

लुसैल आइकानिक स्टेडियममा पटक–पटकको अग्रता गुमाउँदा अर्जेन्टिनाले निर्धारित समय मै खेल जित्ने अवसर गुमाएको थियो । र निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको २३औं मिनटमा लियोनल मेसीको पेनाल्टी गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता बनाएको थियो ।

३६औं मिनटमा एन्जल डि मारियाले त्यो अग्रता दोब्बर पारे । तर खेलको अन्तिम समय नाटकीय बन्यो । खेलको ८०औं मिनटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले पहिलो गोल गर्दा लगतै उनले दोस्रो गोल थप्दै खेललाई २–२ को स्थितिमा ल्याए । अतिरिक्त समयतर्फ फेरि मेसीले १०८औं मिनटमा अर्जेन्टिनालाई खेलमा ३–२ को स्थितिमा ल्याए ।

तर पनि अर्जेन्टिनाले त्यो अग्रता गुमाउन पुग्यो । एम्बाप्पेले ११८औं मिनटमा फ्रान्सका लागि पेनाल्टीबाट तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने अर्जेन्टिनाको जितलाई तत्कालका लागि रोक्न सफल भए । यद्यपि पेनाल्टी शुटआउटमा भने फ्रान्स चुक्न पुग्यो ।

 

 

Post Comments