News बीवाईएससी अन्तिम चारमा प्रवेश
रमेश समदर्शी

झापा । पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (बीवाईएससी) अर्जुनधारामा जारी दोस्रो नमुना च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको रेडहर्ष एफसीलाई टाइब्रेकरमा पराजित गरेर बीवाईएससीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा बीवाईएससीले टाइब्रेकरमा ४-३ गोलअन्तरले इलामलाई पराजित गर्दै बाजी मारेको हो । यो खेलको समाप्तिसँगै सेमी समिकरण पनि पुरा गरेको छ । 

खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । जसमा इलामका प्रविण सिटौलाको प्रहार गोलपोस्टमा लाग्दै बाहिरियो भने सूर्य टुडुको प्रहार बीवाईएससीका गोलरक्षक पुजन थापा मगरले रोकेका थिए । 

बीवाईएससीका लागि हेक्टर, प्रविण बस्नेत, डिएल्लो र एम्रिलिनको प्रहार गोलमा परिणत भएको थियो । इलामका लागि सिमान्त थापा, विक्रम तामाङ र रमेश गुरुङले मात्र गोल गरे । 

खेलको म्यान अफ दी म्याच उत्कृष्ट प्रदर्शन गरेका बीवाईएससीका गोलरक्षक पुजन थापामगर घोषित भए । उनलाई नगद २ हजार प्रदान गरियो । भोलिको पहिलो सेमिफाइनल खेल आयोजक नमुना एफसीले धरानको एन्फा एकाडेमीसँग खेल्नेछ । 

नेपाल, भारत र अमेरिकाका ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५१ हजार १११ र ट्रफी पाउने आयोजकले जनाएको छ ।

Post Comments