News मेसीको त्यो अन्तिम सपना पूरा
गोलनेपाल

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले करियरमा सबै उपलब्धी र किर्तिमान हात पारे पनि उनको मस्तिष्कमा सम्भवत एउटै कुराको व्यग्रता हुन्थ्यो, फिफा विश्वकप । हुन पनि फुटबलको हरेक उपलब्धी र उपाधि आफ्नो नाममा लेखाएका ३५ वर्षिय मेसीसँग फिफा विश्वकप नजित्नु कै एउटा छटपटाहट थियो ।

मेसीको मन, मस्तिष्कमा पनि विश्वकप नै जित्नुपर्ने एउटा अन्तिम चाहना वा सपना जस्तै थियो । जुन सपना उनले अन्ततः आइतबार कतारमा सम्पन्न फिफा विश्वकपको फाइनलमा हात पारेका छन् । सम्भवतः आफ्नो अन्तिम विश्वकप समेत खेलिरहेका मेसीसँग यो उपाधि जित्नैपर्ने एक किसिमको दबाब पनि थियो ।

व्यक्तिगत, क्लब फुटबल र देशका लागि सबै उपाधि जितेका मेसीसँग फिफा विश्वकप जित्ने सपना पनि कतारमा पूरा भएको छ । कुनै समय अन्तर्राष्ट्रिय फुटबलबाट सधैका लागि टाढा हुने संघारमा पनि पुगेका यी अर्जेन्टिनी स्टारले यहि सपना पूरा गर्न आफ्नो हिम्मतलाई हार्न दिएनन् ।

अर्जेन्टिनाका लागि युथ विश्वकप, ओलम्पिक स्वर्ण, कोपा अमेरिक जिते पनि सधै विश्वकप जित्न नसकेको त्यो आरोप र आलोचना अब मेसीले खेप्नु पर्ने छैन । सारांशमा भन्नुपर्दा मेसीको त्यो अन्तिम सपना पनि पूरा भएको छ ।

Post Comments