News तनावपूर्ण खेलमा जित निकाल्दै भुटनिज युथ फाइनलमा
रमेश समदर्शी

झापा । तनावपूर्ण खेलबाट जित निकाल्दै नेपाल भ्रमण रहेको भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाको टोली यहाँ जारी दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

झापाको अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलको पहिलो हाफमा खेल तनावपूर्ण बनेको थियो । ललितपुरको सुनाकोठी सिटी एफसीसँग फाइनल प्रवेशका लागि खेलकै क्रममा विवाद सिर्जना भएपछि ७ मिनेट खेल अवरुद्ध बन्यो । 

पहिलो हाफको २२औँ मिनेटमा सुनाकोठीका खेलाडी शिशिर लेखीमाथि फाउल भएपछि खेल तनावग्रस्त बनेको थियो । त्यसपछि दुवै टिमका अफिसियललगयात अन्उ खेलाडी मैदानभित्र पुगेका थिए । यसक्रममा ७ मिनेट खेल अवरुद्ध भएको थियो । 

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफको ३ मिनेटमै भुटनिज युथका प्रविण बस्नेतले गोल गर्दै अग्रता दिलाएका थिए । उनकाे गाेल नै निर्णायक बनेकाे थियाे । उनी परिवर्तित खेलाडी हुन् । 

सुनकोठीका गोलरक्षक प्रमिजाइ गच्छदारको हातबाट फुत्किएको बललाई प्रविणले जाली चुमाएका हुन् । आजको खेलको म्यान अफ दी म्याच भुटनिज युथका मिगुएल अगस्टिन घोषित भए । 

पहिलो सेमिफाइनल खेलबाट आयोजक नमुना एफसी फाइनल प्रवेश गरिसकेको छ । बिहीबार हुने फाइनल खेलमा आयोजकसँग भुटनिज युथले प्रतिस्पर्धा गर्नेछ । विजेताले नगद १ लाख ११ हजार १११ सहित ट्रफी पाउने छ ।

Post Comments