News पोर्चुगिज युइएफए प्रो लाइसेन्स प्रशिक्षकको नेतृत्वमा युथ फुटबल क्याम्प हुने
गोलनेपाल

काठमाडौं । विभिन्न खेलकुदहरुको प्रवद्र्धनसँगै मार्केटिङ र व्यवस्थापन गर्दै आएको पेरिविंकल सर्भिसको आयोजनामा यहि पौष २५ देखि माघ ८ गतेसम्म युथ फुटबल क्याम्प हुने भएको छ । क्याम्पमा यु–१६ उमेर समूहका बालबालिकाहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

फुटबलमा सम्भावित युवा खेलाडी उत्पादन गर्न, युवा खेलाडीहरुलाई उचित मार्ग दर्शनमा समर्थन गर्न, विदेशी प्रशिक्षकहरुबाट फुटबलसम्बन्धी परामर्श, सीप र प्रविधिहरु प्रदान गर्न, फुटबलको सैद्धान्तिक र रणनीतिक ज्ञान प्रदान गर्न, अन्तर्राष्ट्रिय प्रशिक्षण प्लेटफर्ममा विद्यालय फुटबललाई प्रवद्र्धन गर्न तथा नेपालको युथ फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ युथ फुटबल क्याम्प आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

सेन्ट जेभियर्स स्कुल, जावलाखेलसँगको समन्वयमा हुन गईरहेको क्याम्पमा सहभागिता जनाउने बाल खेलाडीहरुका लागि निश्चित शुल्क पनि तोकिएको आयोजकले जनाएको छ । क्याम्पमा सहभागिता जनाए वापत ३५ हजार शुल्क लाग्नेछ । साथै क्याम्पमा सहभागि हुने खेलाडीहरुका लागि मैदान, दैनिक खानपिन, प्रशिक्षणमा चाहिने आवश्यक फुटबल सामग्री, किट, मेडिकल सबै आयोजकले व्यवस्था मिलाउने पनि बताइएको छ ।

क्याम्पमा युइएफए प्रो लाइसेन्स प्रशिक्षक फाबियन फ्लोराले प्रशिक्षण दिने र सहजीकरण गर्नेछन् । पोर्चुगिज प्रशिक्षक फ्लोरा हाल चर्चित साउदी क्लब अल–साहेल एफसीको व्यवस्थापक समेत हुन् । उनले यसअघि विश्व फुटबलमा चर्चित क्लबहरु म्यानचेष्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पिएसजी), लाजियो, युभेन्टस जस्ता क्लबहरुको युथ फुटबलमा काम गरिसकेका छन् ।

 

Post Comments