News स्पेनका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडी नेपाल आउँदै
गोलनेपाल

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना र रियाल मड्रिडकाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रिपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आउने भएका छन् ।

पुष १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्न डे ला रेडा र सालिनास टिमसँगै मंगलबार नेपाल आइपुग्ने छन् । क्रिस्मस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्उसहित स्पेनिस टोली सोमबार मड्रिडबाट काठमाडौंका लागि उडिसकेको छ । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदुत डा. सर्मिला पराजुली ढकालले सोमबार बिदाई गरेकी थिइन ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ । स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ ।

यसैगरी राष्ट्रिय टिमका अर्का पूर्व कप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाइसकेको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा दुई मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।

स्पेनिस लिग संरचनामा दोस्रो डिभिजनको क्लब कासेरेन्योमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि हुने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले यसअघि नै जानकारी गराइसकेको छ ।

६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यावसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए । एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोना जस्ता ठूला क्लबहरुबाट खेलिसकेका सालिनासले १९९२ मा बार्सिलोनाबाट युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए । १९८६ देखि १९९६ सम्म १० वर्ष स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा फरवार्ड सालिनासले ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए ।

६ फिट दुई इन्च अग्ला सेन्टर फरवार्ड सालिनास १९८० र १९९० को दशकमा स्पेनिस फुटबलका स्टार खेलाडी थिए । विपक्षीको पोस्टमा निक्कै प्रभावकारी रहने खुबीका लागि उनी प्रसिद्ध थिए । व्यावसायिक फुटबलमा सात फरक क्लबबाट खेल्ने क्रममा कुल पाँच सय ५७ खेलमा दुई सय ४६ गोल गरेका थिए ।

रियाल मिड्रडका उत्पादन डे ला रेड भने २००८ मा स्पेनले युरोपियन च्याम्पियनसिप जित्दा टोलीका सदस्य थिए । ३७ वर्षे मिडफिल्डरले गेटाफे र रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए ।

रियाल मड्रिडबाट २००६–०७ को सिजनमा स्पेनिस ला लिगा तथा २००८ मा स्पेनिस सुपर कपको उपाधि जितेका उनी गेटाफे २००७–०८ को सिजनमा गेटाफे कोपा डेल रेको उपविजेता बन्दा टोलीका सदस्य थिए ।

उमेर समूहमा उनले स्पेनको राष्ट्रिय टिमबाट १००४ मा १९ वर्ष मुनिको युरोपियन च्याम्पियनसिप पनि जितेका थिए । 

 
 
Post Comments