News २२औं आहा! रारा पोखरा गोल्डकप शुरु, धरानको विजयी शुरुवात
उमेश पुन

पोखरा । मोफसलको प्रतिष्ठित मध्ये एक आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको २२औं संस्करण बिहीबारदेखि शुरु भएको छ । पोखरा रंगशालामा शुरु उद्घाटन खेलमा धरान एफसीले विजयी शुरुवात गरेको छ ।

आयोजक सहारा क्लब, पोखरा विरुद्ध शून्यका विरुद्ध १ गोलको जित निकाल्दै धरानले विजयी शुरुवात गरेको हो । खेल शुरु भएको चौथो मिनट मै प्रकाश बुढाथोकीले फ्रिकिक मार्फत गरेको एक मात्र गोल धराने टोलीलाई जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै धरान क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

धरानले पौष १६ गते हुने क्वाटरफाइनलमा साविक विजेता एपिएफ क्लबसँग खेल्नेछ । निर्णायक गोलकर्ता प्रकाश बुढाथोकी नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष १५ गते शुक्रबारको खेल नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेड एफसीबीच हुने आयोजकले जानकारी दियो ।

यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले गरेका थिए । सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २३ गतेका दिन हुनेछ ।

Post Comments