News बागमती र सोसल वेलफेयर क्वाटरफाइनलमा
गोलनेपाल

बेसीशहर । यहाँ जारी लमजुङ जिल्ला कै पुरानो र प्रतिष्ठित मध्ये एक ३०औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा बागमती युवा क्लब र सोसल वेलफेयरले जित हात पारेका छन् ।

त्रिवेणी रंगशालामा भएको खेलमा बागमतीले खलिबारी फुटबल क्लबलाई २–१ ले हराउँदै जित हात पारेको हो । बागमतीको जितमा देव गुरुङले एक गोल गरे भने अर्को गोल रुपेश अधिकारीले आत्मघाती गोलका रुपमा गरेका थिए । त्यस्तै खलिबारीका लागि सञ्जिव बिष्टले गोल गरे तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

त्यस्तै अर्को खेलमा सोसल वेलफेयरले लाङ्दीदेवीलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सोसल वेलफेयरका लागि अब्दुलाले गोल गरेका थिए भने लाङ्दीदेवीका लागि दिपेश आलेले गोल गरेका थिए ।

यो जितसँगै बागमती र सोसल वेलफेयर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत पौष १५ गते शुक्रबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा सामना एफसी र सुन्दरबजार एफसी भिड्ने छन् भने दोस्रो खेलमा नक्खीपोट र गोर्खा ब्वाईजबीच हुने आयोजकले जानकारी दियो ।

त्रिवेणी युवा क्लब, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष १९ गतेका दिन हुनेछ ।

Post Comments