News पेलेः एउटा फुटबल युगको अवसान
गोलनेपाल

काठमाडौं । “एक दिन हामी माथी आकाशमा सँगै फुटबल खेल्नेछौं” दुई वर्ष अघि अर्जेन्टिनी दिग्गज फुटबलर डिएगो म्याराडोनाको निधन हुँदा प्राजिलियन लिजेण्ड पेलेले म्याराडोनालाई लेखेको सन्देश थियो यो । अहिले यहि सन्देश फेरि चर्चामा छ ।

बिहीबार राती ८२ वर्षको उमेरमा उनै पेलेको निधन भएको छ । विश्व फुटबलले एउटा कहिल्यै नदोहोरिने इतिहास गुमाएको छ । पछिल्लो समयसम्म क्यान्सरबाट पिडित पेले नियमित स्वास्थ्य परिक्षण कै क्रममा थप बिरामी परेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मुटुलगायत अन्य स्वास्थ्य समस्याबाट समेत ग्रसित पेलेको स्वास्थ्य स्थिति थप जटिल बनेपछि उनको अवस्था नाजुक बनेको थियो । सारा विश्व फुटबलले उनको स्वास्थ्य लाभको कामना गरे । तर त्यो कामनाले उनको जीवन र स्वास्थ्यमा सुधार ल्याउन सकेन र अन्ततः बिहीबार सधैका लागि संसारबाट विदा लिए ।

तीन विश्वकप जित्ने एक्ला खेलाडी

भौतिक संसारबाट विदा लिए पनि पेलेलाई अहिले नचिन्ने वा उनको नाम नसुन्ने विरलै मानिसहरु छन् होला । हरेक फुटबल खेलाडीहरुको सपना हुन्छ विश्वकप फुटबल जित्ने । पेलेले त्यहि विश्वकप सन् १९५८ मा पहिलोपटक १७ वर्षको उमेरमा जिते । त्यतिमात्र होईन १९६२ र १९७० को विश्वकप पनि जित्दै विश्व फुटबलको इतिहासमा तीन विश्वकप जित्ने एक्ला र पहिलो फुटबल खेलाडी पनि बने । यो उपलब्धी अहिलेसम्म कुनै खेलाडीले हात पार्न सकेको छैन ।

‘द किंग (राजा)’ को उपनाम पाएका पेलेसँग व्यक्तिगत उपलब्धी अनगिन्ती नै छ । अनेक किर्तिमान पनि छन् । २०औं शताब्दीका सर्वाधिक लोकप्रिय खेल व्यक्तित्वको उपाधि पनि उनलाई दिइएको छ । सन् २००० मा उनी शताब्दी कै सर्वश्रेष्ठ फुटबल खेलाडी पनि चुनिए ।

आफ्नो करियरको लगभग पूरा समय उनले सान्तोष क्लबमा बिताए । अमेरिकी क्लब न्युयोर्क कोसमोसका लागि पनि खेले । ब्राजीलका लागि ९२ खेलमा ७७ गोल समेत गर्न समेत सफल भए ।

उनले सबै खेलहरु गरेर १३६३ खेलहरु खेले । जसमा १२७९ गोल पनि गरे । यो आफैमा एउटा विश्व किर्तिमान थियो । तर उनको आधिकारिक गोलसंख्यामा भने अझै पनि फरक मतहरु छन् । जे भए पनि विश्व फुटबललाई एकताको सुत्रमा बाँध्ने काम पेलेले गरेको भन्ने धेरैको बुझाई पनि छ ।

फुटबलमा पेलेको प्रशंसा र वर्णन गर्ने शब्दहरु जो कोहीसँग थोरै नै होला । ‘कालो मोती’ उपनाम पाएका पेलेको भौतिक शरीर अब यो दुनियाँमा नरहे पनि आधुनिक फुटबललाई उनले दिएको अनेक उपलब्धी र योगदान भने सधैका लागि सबैका लागि अविष्मरणीय रहनेछ ।

Post Comments