News अब साउदी प्रो लिगमा रोनाल्डो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो अन्ततः लामो अड्कलबाजी पश्चात साउदी प्रो लिग क्लब अल नासरमा आवद्ध भएका छन् ।

गत नोभेम्बरमा विवादास्पद अन्तरवार्ता दिएपछि तत्कालिन क्लब म्यानचेष्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता रद्द गरेको थियो । त्यसपछि उनी फ्रि एजेन्ट थिए । उनलाई अन्य युरोपियन क्ल्बहरुले पनि अनुवन्ध गर्न खोजेको थियो । तर उनले साउदी क्लबलाई नै रोजे ।

“फरक देशमा नयाँ लिगको अनुभव गर्न उत्साहित छु ।” अल नासरमा आवद्ध भएपछि रोनाल्डोले प्रतिक्रिया दिंदै भनेका छन् । व्यवसायिक करियरमा रोनाल्डोको यो पाँचौं क्लब भएको छ ।

रिपोर्टअनुसार रोनाल्डोले अल नासरसँग सन् २०२५ सम्मको सम्झौता गरेका छन् । त्यसवापत उनले हरेक वर्ष १७७ मिलियन पाउण्डको मोटो रकम पाउने छन् । त्यसमा विज्ञापन सम्झौतासहित उनले २०० मिलियन पाउण्डको हाराहारीमा कमाउने बताइएको छ ।

नौ पल्टको साउदी प्रो लिग च्याम्पियन अल नासरले ३७ वर्षिय पोर्चुगिज सुपरस्टारलाई अनुवन्ध गरेपछि यो सम्झौतालाई ’ऐतिहासिक’ भनेको छ । रोनाल्डोको आगमनले लिग, देश र युवा पुस्तालाई नै प्रेरणा मिल्ने क्लबले उल्लेख गरेको छ ।

स्मरण रहोस, विश्वकप अघि टिभी पर्सनलिटी पियर्स मोर्गनलाई रोनाल्डोले दिएको एक अन्तरवार्तामा उनले आफूसँग क्लबबाट धोका भएको र म्यानेजर एरिक टान हेगप्रति उनको कुनै सम्मान नरहेको प्रतिक्रिया दिएका थिए ।

रोनाल्डोलाई यसअघि अर्को साउदी क्लब अल हिलालले पनि ३०५ मिलियन पाउण्डको आकर्षक रकममा अनुवन्ध गर्न खोजेको थियो । यद्यपि त्यतिबेला रोनाल्डोले आफू म्यानचेष्टर युनाइटेड मै खुशी रहेको प्रतिक्रिया दिएका थिए ।

Post Comments